विम्बल्डन : नाडाल अन्तिम आठमा

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, ११ : ३६
विम्बल्डन : नाडाल अन्तिम आठमा

काठमाडौं । बोटिक भान डर जान्डस्कुपलाई हराएसँगै राफेल नाडालले विम्बल्डनको क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने भएका छन् । दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा ३५०औं जित दर्ता गर्ने क्रममा सोमबार अन्तिम १६ मा जान्डस्कुपमाथि ६-४,६-२,७-६(८-६) को जित निकाले ।

फ्रिट्ज भने जेसन कुबरलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए । फ्रिट्जले यसअघि इन्डियन वेल्स मास्टर्समा नाडाललाई हराएका थिए । नाडाल कीर्तिमानी २२ पटकका ग्रान्ड स्लाम विजेता हुन् । उनलाई समान २० ग्रान्ड स्लामसहित नोभाक जोकोभिच र रोजर फेडेररले पछ्याइरहेका छन् ।

ग्रान्ड स्लाममा पुरुष एकलमा सबै भन्दा धेरै जित फेडेररको नाममा छ । उनले चार सय २९ खेल जितेका छन् । त्यस्तै, जोकोभिचले तीन सय ७८ खेल जितेका छन् । नाडालले गत महिनामा मात्र फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस