भरतपुरका सबै ठाँउमा सिंचाईको पहुँच पुग्छ, अब जग्गा बाझो राख्नु पर्दैन : मेयर दाहाल

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १७ : १५
भरतपुरका सबै ठाँउमा सिंचाईको पहुँच पुग्छ, अब जग्गा बाझो राख्नु पर्दैन : मेयर दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा सिंचाई नभएर जग्गा बाझो राख्न नपर्ने बताएकी छन । १९ औ राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर महानगरपालिकाको आयोजना तथा त्रिपुरेश्वर कृषि सहकारी भरतपुर–९ को सहआयोजना भएको कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन ।

मेयर दाहालले नारायणी लिफ्ट सिंचाई आयोजना कार्यालयमा करिब ३५ करोडको यन्त्र, उपकरणहरु आई पुगेकाले अब भरतपुरका सबै जस्तो ठाँउमा सिंचाईको पहुँच पुग्ने उल्लेख गरिन् । ‘डिप बोरिङहरु कृषकहरुलाई वितरण गरेका छौ । उनले भनिन् ,‘स्यालो टुबवेल पनि धेरै ठाँउमा जडान भएको छ । अब सिंचाईको कुनै चिन्ता छैन।’

मेयर दाहालले विगतमा पश्चिम चितवनका केही भूभागमा खडेरीको समयमा सिंचाईको व्यवस्था नहुँदा खेतहरु त्यसै बाझो रहने गरेको बताइन्। यो समस्याको अन्त्य हुँदैछ।महानगरले कृषिलाई प्रथामिकतामा राखेर कृषिमा व्याज अनुदान कार्यक्रम, गोठ सुधार कार्यक्रम, विभिन्न यन्त्र, उपकरणमा अनुदान लगायतको कार्यक्रमहरु गर्दै आईरहेको पनि जानकारी दिइन् ।

कृषिलाई प्रथामिकता दिएकै कारण संघिय सरकार, प्रदेश सरकार र नेपालको ७५३ स्थानीय तहमा नभएको दूधमा ३ रुपैयाँ अनुदान कार्यक्रम सुरु गएको उनको भनाई थियो ।

यसैबीच मेयर दाहालले असार १५ कै अवसरमा भरतपुर ६ इन्द्रपुरीमा एउटा डिपबोरिङ र भरतपुर १५ मा ३० वटा स्याबो टुबवेलको उद्घाटन गरेकी छन । चितवन भूमिगत संयोजनात्मक जल सिंचाई आयोजनाले यो आर्थिक वर्षमा मात्रै डिप बोरिङ ३० वटा र स्यालो टुबवेल १८५ वटा सञ्चालनमा ल्याइ सकेको छ । आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार डिप बोरिङले ३० विघा जग्गालाई सिंचाई गर्न सक्छ भने स्यालो टुबवेलले ४ विघा सिंचाई गर्दछ ।
 

प्रतिक्रिया दिनुहोस