रुकुम पश्चिमको चौरजहारी–११ वडा कार्यालयमा तालाबन्दी

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १४ : ५०
रुकुम पश्चिमको चौरजहारी–११ वडा कार्यालयमा तालाबन्दी

 रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ वडा कार्यालय स्थानीयले तालाबन्दी गरेका छन्। कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित चौरजहारी–११ वडा कार्यालय स्थानीयले तालाबन्दी गरेका हुन्। 

स्थानीय युवाहरूले आज आइतबार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताए। स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिए।  

विज्ञप्तिमा वडाको कार्यालयको सहयोगी स्थानीयलाई नै राख्नुपर्ने माग राखिएको छ। चुनावमा स्थानीय युवाहरूलाई जागिरको प्रलोभन देखाएको तर कर्मचारी राख्ने बेला अन्य वडाबाट सरुवा गराएर ल्याएको भन्दै तालाबन्दी गरेको ज्ञानेन्द्र रानाले बताए।

उनका अनुसार वडा कार्यालयले आफू खुशी कर्मचारी भर्ना नगराई खुल्ला प्रतिस्पर्धाबाट राख्न माग गरिएको छ। यसअघि वडा नम्बर १३ मा कार्यरत प्रशान्त सार्कीलाई ११ नम्बरमा ल्याएपछि विरोध गरिएको हो। उनी वडा नम्बर १४ निवासी हुन्। 

कार्यालय बन्द हुँदा सबै जनप्रतिनिधि र सेवाग्राहीले कार्यालयमा काम गर्न नपाएको वडा सदस्य ओलीले बताए। स्थानीय र वडा कार्यालय लगायत पक्षसँग बसेर छलफल गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस