काठमाडौँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले सिसडाेलमा रहेकाे फाेहाेरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहेकाे बताएका छन्।
आज बिहान अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङसँग भेटघाटकाे क्रममा उनले यस्ताे बताएका हुन्। दुवैबीच सिसडोलमा रंगशाला निर्माण गर्ने र ग्रासरुट फुटबलबारे छलफल भएकाे थियाे।
उनले भने, ‘हामी सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौँभन्दा १२ किलोमिटर मात्र टाढा छ। अहिलेको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ।’भेटवार्ताका क्रममा मेयर बालेनले काठमाडाैँका क्लबहरूमा खेलाडी कम उत्पादन हुन थालेकाेमा गुनासाेसमेत गरे।
उनले भने, ‘लिग खेल्ने काठमाडौँका क्लबहरूमा बाहिरका खेलाडीकै वर्चस्व छ। स्थानीय खेलाडी टिममा हुनै छाडेको छ। त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौँ।’
टुडिखेल लगायत महानगरका अन्य पार्क र मैदानमा राति खेल्न मिल्ने गरी फ्लडलाइट जडान गर्ने पनि मेयर बालेनले बताए।अहिले पनि काठमाडौँ महानगरले महानगरमा भएका ए डिभिजनका क्लबहरूलाई प्रत्येक वर्ष १० लाख दिने गरेको छ।
नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै हाल एन्फाका वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले भने, ‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौँ। सुशासन, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौँ। यही सिस्टम बसाल्नकै लागि एन्फामा नेतृत्वको लागि चुनावी मैदानमा आएको छु। चुनाव जित्नेमा विश्वस्त छु।’
छलफलमा उनीसहित उपाध्यक्षका उम्मेदवार दावा लामा (अहिलेका केन्द्रीय सदस्य) र नवीन पाँडे (फुटबल फ्यान एवम् एन्फाका विदेश विभागका पूर्वप्रमुख) थिए।केन्द्रीय सदस्यको रूपमा दुई दशकअघि एन्फामा प्रवेश गरेका नेम्बाङ २०७४ सालमा उपाध्यक्ष निर्वाचित भएको एक वर्षपछि वरिष्ठ उपाध्यक्ष चुनिएका थिए।
एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचन राजधानीमा सोमबार हुदैँछ, जहाँ बेग्लाबेग्लै प्यानलसहित अहिलेको अध्यक्ष कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ नेतृत्वको दौडमा छन्। फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौडेलको पनि अध्यक्षमा उम्मेदवारी परेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १२ : २८
लेखकबाट थप