सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुँदै

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, ११ : ४९
सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुँदै

काठमाडौं । प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुर्खेतमा पहिलोपटक काक्रेविहार खुला पुरुष हाफ म्याराथन हुने भएको छ । ‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ । हाफ म्याराथनसँगै विद्यालयस्तरको ५ किलोमिटर छात्र–छात्रा दौड पनि हुँदै छ । आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन् । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको म्याराथन र ५ किलोमिटर दौडमा करिब १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर बिक्रमजंग थापाले बताए । हाफ म्याराथनमा २ सय र विद्यालय स्तरको दौडमा ८ सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने थापाको दाबी थियो ।
 
म्याराथन सुर्खेतको वीरेन्द्र चोकबाट सुरु हुनेछ । वीरेन्द्र चोकबाट बुलबुले, एयरपोर्ट चोक, पिपिरा चौक, धुलियाविट चोक, सुब्बा कुना हुँदै फर्किएर बधशाला, हिलेखाली पुल, बाङगेसिमल, खोर्केखोला पुल हुँदै पुन वीरेन्द्र चोकमा आएर समापन हुनेछ ।
 
हाफ म्याराथनको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार रुपैयाँ पाउनेछन् । ५ किलोमिटर विद्यालय छात्र–छात्राका विजेताले समान १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन् । 

आयोजक मिड वेष्टन फिटनेस सेन्टर संस्थापक एवम् कर्णाली प्रदेश खेलकुद विकास परिषद उपाध्यक्ष प्रमोद हमाल कर्णालीमा म्याराथनको स्तर र पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
 
‘‘हामी निकै उत्साहीत छौं । सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुँदै छ । खेलकुद देशको प्रतिष्ठासँग मात्र जोडिएको हुँदैन । आयोजना गर्ने स्थानको पहिचान र त्यस क्षेत्रको आर्थिक विकाससँग पनि जोडिएको हुन्छ,’’ हमालले भने, ‘‘सुर्खेतलाई चिनाउने एउटा उत्कृष्ट इभेन्ट्स हो यो म्याराथन ।’’हमालले यस प्रतियोगितामा जितसक्दो स्थानीयको सहभागिता र सहकार्यलाई जोड दिएको बताए । 
‘‘निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने प्रयास गरेका छौं । तर, पहिलोपटक भएर होला सोचेजस्तो सहकार्य हुन सकेको छैन । आगामी संस्करणमा आम कर्णालीवासीलाई सहकार्यका लागि आग्रह गर्दछु,’’ हमालले थपे ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्याल काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुल स्तरीय ५ किलोमिटर दौडले समग्र कर्णालीको खेलकुद गतिविधिलाई बढाउन उर्जा थप्ने बताए । 

‘‘कर्णालीले खेलकुद क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचानलाई बढाएको छ । कर्णालीलाई पूर्वाधारमा कमजोर र प्रतिभा धेरै भएको ठाँउका रुपमा चिनिन्छ,’’ सन्ज्यालले भने, ‘‘तर, अब त्यो भनाइलाई परिवर्तन गर्नुपर्छ । हामीसँग प्रतिभामात्र होइन, ठूला प्रतियोगिता गर्ने सामथ्र्य पनि छ भन्ने सन्देश दिन चाहँन्छौं ।’’

कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेका पूर्वाधार निर्माणमा निकै फड्को मारिरहेको सदस्यसचिव सन्ज्यालले बताए । 

सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा कर्णाली प्रदेश खेकलुद परिषद्ले ६ लाख रकम सहयोग गरेको छ । अन्य अपुग रकम आयोजकले निजीस्तरबाट जुटाउने प्रयास गरिरहेको छ । 

म्याराथनका ‘रेस डिरेक्टर’ थापाले कर्णालीमा हुन लागेको म्याराथनले कर्णाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाई थप्ने विश्वास व्यक्त गरे । उनले थपे, ‘‘म्याराथन गर्न सहज छैन । सुर्खेतका साथीहरूले आँट गर्नुभएको छ । यसको प्रत्यक्ष फाइदा यस क्षेत्रका खेलाडीले लिनेछन् । भविष्यमा कर्णालीका अरु थुप्रै खेलाडीलाई पदक जित्न यस्ता प्रतियोगिताले सहयोग गर्नेछ ।’’

प्रतिक्रिया दिनुहोस