काठमाडाैँ । बेंसीसहर चामे सडक पहिरोका कारण पुनः अवरुद्ध भएको छ ।शुक्रवार दिउँसोदेखि सञ्चालनमा आएको सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिवार बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।
खरखरे भीरमा ठूला–ठूला ढुंगा सहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए । उनले भने, ‘त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो, झन् केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिराले सडक अवरुद्ध बनाइरहेको छ ।’
प्रहरीका अनुसार १०–१५ मिटर सडक नै अवरुद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिरोले सडक अवरुद्ध बनाएको छ ।
यतिबेला डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ । बेंसीसहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १० : ४१
लेखकबाट थप