काठमाडाैँ । जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशु सेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशु सेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । वडा नं २ स्थित ओदी पाटनमा नमूना भेडा स्रोत केन्द्र सुरुवात गरिएको छ ।
उनका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार जिल्लामा भेडा पालनलाई स्तर वृद्धि गरी केन्द्र स्थापना गरिएको हो । तीन वर्ष अघि स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यअनुसार सूचना गरी हिमा–२, ओदी स्थित लामा विष्णु भेडा पालक समूह छनोटमा परेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । लामा विष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा २०० भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र ७०० मिटर घेरबार कार्य सम्पन्न भइसकेको छ ।
केही भेडा बिक्रीसमेत गरिएको छ । अन्य दुई करिब ५०० भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम रहेको इन्जिनियर शाहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १५ : ३२
लेखकबाट थप