पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर तरलतालाई कम गर्दै लगिने अर्थमन्त्रीको भनाइ

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, १७ : ०३
पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर तरलतालाई कम गर्दै लगिने अर्थमन्त्रीको भनाइ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर तरलतालाई कम गर्दै लगिने बताए । आइतबार काठमाडौंमा आयोजित आईएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर र भएको पूँजी परिचालन गरेर तरलतालाई कम गर्दै लगिने बताएका हुन् ।

उनले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै नीतिगत रुपमा पनि आवश्यक सुधार गरिने बताए । उनले नीतिगत सुधार गर्दा व्यवसायीहरुको मागलाई पनि ध्यान दिइने बताए ।

उनले भने, ‘जहाँसम्म तरलताको कुरा छ । तरलताका कुराहरुमा केही नीतिगत कुराहरुले पनि काम गरेका छन् । यहाँहरुलाई थाहा छ, म अहिले त्यो व्याख्या गर्न चाहान्न । तिनलाई हामी अब आउने मनिटरिङ पोलिसीले सुधार गर्नुपर्ने छ । राष्ट्रबैंकको प्रतिनिधि पनि यहाँ हुनुहुन्छ । व्यवसायीहरुले भनेका कुरा पनि उहाँले सुन्नुभएको छ । मनिटरिङ पोलिसीमार्फत् सुधार गर्न सम्भव भएकाहरु सुधार गरिनेछ ।’

उनले थपे, ‘त्यतिमात्रै नभएर अब हामी विभिन्न क्षेत्रको लगानी भित्र्याउनेछौँ । पूर्वाधार क्षेत्रमा हामी लगानी भित्र्याउने छौँ । त्यो लगानी भित्र्याउने र हामीसँग भएको पूँजीको परिचालन गर्ने कुराबाट तरलतालाई न्यून गर्दै जान सकिन्छ भन्ने कुरा म यहाँ राख्न चाहान्छु ।’

त्यस्तै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्राउने लक्ष्य राखेको बताए । उनले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गरे । मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताए ।

उनले भने, ‘यो बजेटले रेमिटेन्सको रुपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । विशेष रुपमा विदेशी मुद्रा भित्राउने महत्वकांक्षी लक्ष्य राखेको छ । हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरु, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन्, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ ।’

उनले फेरि भने, ‘उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ । त्यस हुनाले औद्योगिक उत्पादन र कृषि उत्पादनबाट मात्रै होइन, सेवा निर्यातलाई पनि प्राथमिकता दिएका छौँ । सेवा निर्यातको क्षेत्रमा भएका प्रयासहरुलाई प्रोत्साहन गर्ने गरी त्यस सन्दर्भका कर लगायतका विषयहरुलाई समाधान गरेका छौँ । औद्योगिक क्षेत्र, कृषि क्षेत्र र सेवा क्षेत्रबाट सेवा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य लिएको छ ।’

उनले श्रमयोग्य जनक्तिलाई उनीहरुको चाहाना अनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताए । मन्त्री शर्माले व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि उत्पादनमा आधारित कर्मलाई अगाडि बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस