द्वन्द्वपीडित बडूको पीडाः २० वर्षअघि बुवा बेपत्ता, शरीरका अंगले कामै गर्दैनन्

सफल खबर संवाददाता

शनिबार, २८ जेठ २०७९, १८ : १५
द्वन्द्वपीडित बडूको पीडाः २० वर्षअघि बुवा बेपत्ता, शरीरका अंगले कामै गर्दैनन्

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ७ सुर्कालका नन्दराज बडू द्वन्द्व प्रभावित व्यक्ति हुन् । उनी तत्कालीन विद्रोही पक्ष भनिएको नेकपा माओवादीमा संलग्न भएकाले उनका बुवालाई बेपत्ता पारियो । 

बुवाको अवस्था अझै अज्ञात छ । २० वर्षअघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपुर जाँदै गरेका उनका बुवा गंगादत्त बडू बाटो बाटै बेपत्ता भए ।

बुवालाई खोज्न नेपाल र भारतका धेरै ठाउँ घुमे पनि नन्दराजले भेट्टाउन सकेनन् । नन्दराजले आफ्नो बुवा मात्रै गुमाएनन् । आफूले पनि माओवादी भएका कारण प्रहरी र तत्कालीन शाही नेपाली सेनाको पटक पटक कुटाइ खाए । कतिपय पटक त उनलाई नाङ्गै पारेरसमेत कुटपिट गरियो । अहिले उनको शरीरका सबै अंगले राम्रोसँग काम गर्दैन । शरीर दुखिरहन्छ ।

नन्दराजका छोरासमेत खुट्टाका अपाङ्ग छन् । छोराको उपचार गर्न र पैसा जुटाउन भारतका विभिन्न ठाउँमा मजदुरी गरे पनि छोराको उपचार सम्भव भैसकेको छैन । 

उनी भन्छन्,‘द्वन्द्वकलाका धेरै घाइते र बेपत्ता परिवारले सरकारबाट राहत प्राप्त गर्दा मैले केही पाएको छैन । बुवा बेपत्ता भएको २० वर्षपछि बल्ल गत मंसिरमा बेपत्ता परिवारको परिचयपत्र पाएको छु । म जस्ता दर्जनौँ साथीले १० देखि १५ लाख रकम पाएका छन् । मैले केही पाएको छैन । मेरै पार्टीका नेताहरूबाट राहतको आश्वासन पाउँछु । तर राहत पाउँदैन ।’ 

पीडित बडू अहिले आफ्नो पार्टीको प्रदेश इन्चार्ज खगराज भट्टलाई भेट्न धनगढी गएका छन् । उनले दर्जनौं पटक तत्कालीन शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी संस्था सबै ठाउँ धाए पनि केही सहयोग नपाएको गुनासो गरे । 

'बुवाको मृत्यु भएको जानकारी मात्रै पाए पनि काज किरिया गर्थे । तर, न सास न लास भनेझैँ केही खबर आएको छैन,' उनले भने । उनका बुवालाई तत्कालीन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ । अहिले नन्दराजको आशा भनेको सरकारबाट राहत पाउनु मात्रै रहेको छ । 

गरिब परिवारका उनको आम्दानीको श्रोत केही छैन । राहतका लागि धाउँदा धाउँदै मजदुरीसमेत गर्न नपाएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस