अपाङ्गता भएकालाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको छ : शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, १४ : ५५
अपाङ्गता भएकालाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका मानिसहरुलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन् । विहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले अपाङ्गता भएकाहरुको समस्या राज्यको समस्या भएको भन्दै अपाङ्गता भएकाहरुलाई रोजगारी, शिक्षक, शिक्षक सेवा आयोगको परीक्षाको कुरा र अनुगमको कुरामा समावेशिताका आधारमा समावेश गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्न सरकार लागिरहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुको कतिपय समस्या समेट्दै गएको र बाँकी समस्या क्रमशः सरकारले समेट्ने पनि बताए ।

मन्त्री पौडेलले भने, ‘सरकारको सहयोगी भएर हामी हाम्रा समस्या राख्न चाहन्छौँ भन्ने कुरा स्वागतयोग्य छ । तपाईहरुको समस्या भनेको राज्यको समस्या हो । रोजगारी, शिक्षक, शिक्षक सेवा आयोगको परीक्षाको कुरा उठाउनुभएको छ, यी सबै कुरालाई हामी सकारात्मकरुपमा लिन्छौँ ।’

उनले थपे, ‘तपाईहरुका समस्या हल गर्न र सम्मानजनक रुपमा राज्यका सम्भव भएका ठाउँमा पठाउनका निम्ति पनि हाम्रो प्रतिनिधि हुँदा राम्रो हुन्छ भन्नुभएको छ, म के विश्वास दिलाउन चाहन्छु भने धेरै कुराहरु समेटिँदै पनि गएका छन्, बाँकी रहेका कुराहरु पनि हामी समेटेर तपाईहरुलाई दोस्रो दर्जाको नागरिकको अनुभुति हुन नदिने गरेर राज्यको तर्फबाट सम्मान हुनेछ । रोजगारी, सम्मान, अध्ययन, अध्यापन, अनुगमनमा जोड्ने कुरामा अघि बढाउने विश्वास दिलाउन चाहन्छु ।’

त्यस्तै मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कस्ता अपाङ्गता भएका व्यक्तिलाई कसरी र कहाँ शिक्षादिक्षा दिने र उत्पादन भएको जनशक्तिलाई कसरी प्रयोग गर्ने भन्ने समस्या रहेको बताए । उनले यससम्बन्धी कुनै दीर्घकालीन नीति र सोचाई नरहेको स्पष्ट पारे । उनले दीर्घकालीन नीति बनाउँदा बजारीकरण नगरी पढाएरमात्रै अर्थ नरहने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस