निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि हट्दैन : मन्त्री आले

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १५ : ३१
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि हट्दैन : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताए।

उनले सरकार दृढतापूर्वक अगाडी बढ्ने बताए। मन्त्री आलेले हेलिकप्टर र हवाइजहाजहरु युरोपबाट ‘सेकेन्डह्यान्ड’ मा किनेर नेपालमा प्रयोग गरिने गरेको बताए। उनले पुरानो जहाज प्रयोग गरेर मानिसको जीवनको खेलवाड गरिएको भन्दै जहाजहरुको पुरै इन्जिनियरिङ सर्वे गरेर मात्रै प्रयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए । उनले राज्यका कुनैपनि निकाय विकासको सहयोगी हुनुपर्ने बताए ।

उनले विकास निर्माणको काममा बाधा उत्पन्न हुने किसिमको कुनैपनि काम नहोस् भन्नेमा राज्यका सबै निकाय सजग हुनुपर्ने बताए । अध्यक्ष नेपालले अदालतको फैसलाको पाठको आधारमा निर्माण कार्यलाई अगाडी बढाउनुपर्ने धारणा व्यक्त गरे ।

नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताए । उनले विमानस्थल बनाउन नसके ठुलो मूल्य चुकाउनुपर्ने बताए । यसका लागि आवश्यक परेमा सर्वदलिय सहमती गरेर पनि काम गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस