'भूल भुलैया २' को प्रदर्शनले बलिउडलाई राहत

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १६ : १४
'भूल भुलैया २' को प्रदर्शनले बलिउडलाई राहत

पछिल्लो समय दक्षिण भारतीय फिल्मले बक्स अफिसमा कीर्तिमानी कलेक्सन गरिरहेका बेला बलिउड फिल्मले भने खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। गत डिसेम्बरमा प्रदर्शनमा आएको ठूलो बजेटको फिल्म '८३' देखि अहिलेसम्म पनि असफल फिल्मको शृंखला जारी छ। यस्तैमा गत शुक्रबार प्रदर्शनमा आएको 'भूल भुलैया २' ले भने बलिउडलाई केही राहत दिएको छ। फिल्मले प्रदर्शनमा आएको चौथो दिनमै ९० करोडभन्दा बढीको कारोबार गरेको छ। ६८ करोड बजेट रहेको फिल्मले शुरुको ३ दिनमै लगानी सुरक्षित गरेर मुनाफा कमाएको हो।

अनिस बाज्मीको निर्देशनमा बनेको फिल्ममा कार्तिक आर्यन, तब्बु, कियरा आडवानी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। सन् २००७ मा प्रदर्शनमा आएको 'भूल भुलैया'को रिमेक हरर कमेडी नजरामा बनेको छ। यसअघिको फिल्म दक्षिण भारतीय फिल्मको रिमेक भए पनि 'भूल भुलैया २' भने ओरिजिनल कथामा बनाइएको हो। आकाश कौशिकको कथा रहेको फिल्मलाई फराद सामजीले लेखेका हुन्।

त्यस्तै शुक्रबारदेखि प्रदर्शनमा आएको कंगना रनौत अभिनित ‘धाकड’ भने फ्लप भएको छ। सय करोड बजेटमा बनेको फिल्मले लगानीको १० प्रतिशत कलेक्सन गर्न पनि संघर्ष गरिरहेको छ। रजनिस घईको निर्देशनमा बनेको फिल्मलाई कंगनाको करिअरको सबैभन्दा ठूलो फ्लपको रुपमा हेरिएको छ। 

यीबाहेक 'हिरोपन्ती २', 'रनवे ३४', 'जर्सी', 'बच्चन पाण्डे' लगायतका बलिउडका नयाँ फिल्मले पनि आफ्नो लगानी सुरक्षित गर्न सकेनन्। वर्ष २०२२ मा 'द कश्मिर फाइल्स' बाहेक अन्य बलिउड फिल्मले बक्स अफिसमा राम्राे प्रदर्शन गर्न सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस