१३० स्थानको परिणाम आइसक्यो: निर्वाचन आयोग

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १७ : ५१
१३० स्थानको परिणाम आइसक्यो: निर्वाचन आयोग

काठमाडौं ।

सोमबार निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३ः३० बजेसम्ममा १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको जानकारी दिए। जसमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएको उनले बताए।त्यसैगरी वडाध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ निर्वाचित भएको उनले उल्लेख गरे।

विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका वडा नं. ६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनी गाउँपालिका वडा नं. ५ को गा.वि.स. भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ को भगवती मा.वि.मा आज मतदान भएको प्रवक्ता पौडेलले बताए।

त्यसैगरी बझाङको केदारस्यु गाउँपालिका वडा नंं. ४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मा.वि. र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको उनले जानकारी दिए।

उनले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइसकेको र बाँकी रहेका मतदान केन्द्रहरुमा पनि छिट्टै सूचना दिएर निर्वाचन गराइने बताए। पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि आयोग कहीँ पनि नचुकेको स्पष्ट पारे।

उनले भने, ‘आयोगको दृष्टिमा सबै दल बराबर हुन्छन्। कोही काखापाखा हुँदैनन्। निर्वाचन, निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने नै हो। त्यो भनेको मतगणना गरेर परिणाम ल्याउने बेलासम्मकै ड्यूटी हो। त्यो विषयमा आयोग कहीँ पनि चुकेको छैन। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउने कुरामा आयोग दृढ छ। र कहीँ चुकेको छैन।’

छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए। प्रवक्ता पौडेलले १३० पालिकाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको बताए।

प्रतिक्रिया दिनुहोस