पुन: मतगणनाको माग राख्दै सर्लाहीमा चक्काजाम

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १४ : ४५
पुन: मतगणनाको माग राख्दै सर्लाहीमा चक्काजाम

सर्लाही   हरिवन नगरपालिका ७ मा पुन: मतगणनाकाे माग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले हरिवन स्थित पूर्व पश्चिम राजमार्गमा चक्काजाम सुरु गरेका छन्।नगरपालिकाकाे वडा नं. ७ काे वडाध्यक्षमा कांग्रेसका प्रत्यासी अशोक थापा नेकपा एमालेका प्रत्यासी निरध्वज कार्कीसँग १ भोटले पराजित देखिएपछि कांग्रेसले पुन: मतगणनाको माग राखेका थिए।

तर, निर्वाचन अधिकृत रुद्र प्रसाद आचार्यले पुन: मतगणना गर्नु नपर्ने भन्ने सूचना प्रकाशित गरेपछि कांग्रेसी कार्यकर्ताले मतगणना स्थल ईलाका प्रशासन कार्यालयमा ढुंगामुढा गरेका छन्। ढुंगामुढाले ईलाका  प्रशासन कार्यालयकाे झ्यालका सिसा फुटेका छन्।

सुरक्षाकर्मीले ढुंगामुढा गर्ने कांग्रेसलाई धपाउन २ सेल अश्रु ग्याँस समेत प्रहार गरेको छ।लगत्तै कांग्रेसी कार्यकर्ताहरूले पूर्व पश्चिम राजमार्गमा नाराबाजी सहित टायर बालेर चक्काजाम गरेका हुन्। कांग्रेस जिल्ला सचिव निरज कार्की नेतृत्वमा कांग्रेसी कार्यकर्ताले राजमार्ग अवरोध गरिरहेका छन्।

निर्वाचन अधिकृत आचार्यले सर्वदलीय बैठक डाकिएको जानकारी दिए। सोमबार बिहान ११ बजेदेखि हरिवनमा मतगणना रोकिएको छ। त्यहाँ ६, ७ र ८ नम्बर वडाको मतगणना जारी थियो।

प्रतिक्रिया दिनुहोस