डिभोर्स गर्दै सोहेल र सीमा

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १४ : ३६
डिभोर्स गर्दै सोहेल र सीमा

बलिउड अभिनेता सोहेल खानको डिभोर्स हुने भएको छ । उनले श्रीमती सीमा खानसँग विवाहको २४ वर्षपछि अलग हुने निर्णय गरेका हुन् ।

शुक्रबार उनीहरु मुम्बईको फेमिली कोर्टमा एकसाथ देखिएका थिए । कोर्टमा डिभोर्सको फाइल दर्ता गरेपछि उनीहरु आ–आफ्नो गाडीमा चढेर घर निस्किएको भारतीय मिडियामा उल्लेख छ । सोहेल र सीमाले सन् १९९८ मा भागी विवाह गरेका थिए । सीमा दिल्लीवासी हुन् भने फेसन डिजाइनमा करिअर बनाउने सपना बोकेर उनी मुम्बईमा आएकी थिइन् । त्यसै क्रममा सोहेलसँग उनको चिनजान भएको थियो ।

सीमासँग प्रेममा रहेका सोहेलसँगको सम्बन्ध सीमाको परिवारले स्वीकार गर्न तयार नभएपछि उनीहरुले भागी विवाह गरेका थिए । सोहेलको फिल्म ‘प्यार किया तो डरना क्या’ जुन दिन रिलिज भएको थियो, त्यही दिन उनले मुम्बईको मन्दिरमा सीमासँग बिहे गरेका थिए । यो जोडीको दुई छोरा छन्, निर्वाण खान र योहान खान । मिडियामा डिभोर्स सम्बन्धि खबर आएता पनि सोहेल र सीमाले डिभोर्सको विषयमा आधिकारिक भनाई सार्वजनिक गरिसकेका छैनन् । तर, उनीहरुबीच केही समयदेखि खासै राम्रो सम्बन्ध नभएको बताइन्छ ।

सोहेल अगाडि उनका दाइ अरबाज खानले पनि मलाइका अरोरासँग डिभोर्स गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस