एमालेले गर्यो चुनाव प्रचारमा बालबालिकाको प्रयोग, मानवअधिकारवादी संस्थाले जनायो आपत्ति

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १२ : ०३
एमालेले गर्यो चुनाव प्रचारमा बालबालिकाको प्रयोग, मानवअधिकारवादी संस्थाले जनायो आपत्ति

बाँके । स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा नेकपा एमालेले बालबालिकाहरुको प्रयोग गरेको पाइएको छ । बाँकेको डुडुवा गाउँपालिकामा बालबालिकाहरुलाई चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको भेटिएको हो । 

बाँकेको डुडुवा गाउँपालिकामा गत बुधबार अनुगमनका क्रममा बालबालिकाहरुलाई निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिरहेको भेटिएको मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)का केन्द्रीय अध्यक्ष आलम खानले बताए ।
‘बालबालिकाहरुलाई एमालेको झण्डा र चुनाव चिन्ह बोकाएर गाउँमा चुनाव प्रचार गर्न हिडाएको अवस्था देखियो’, खानले भने, ‘त्यहाँ १० देखि १४÷१५ वर्षसम्मका बालबालिकाहरु झण्डा बोकेर हिडिरहेका थिए ।’

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।

यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदी कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिवाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस