विराटनगर महानगरको मेयरमा एमालेका उम्मेदवार पूर्वस्ववियू सभापति सागर थापा

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, ०९ : १९
विराटनगर महानगरको मेयरमा एमालेका उम्मेदवार पूर्वस्ववियू सभापति सागर थापा

काठमाडौं । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ । संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताए । 

थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् । मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील छन् । 

विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक पटक संघीय मन्त्री भइसकेका नेता लालबाबु पण्डितको  पनि चाहना थियो । अन्य नेताहरू गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेतलगायत पनि महानगरपालिकाको प्रमुख पदका आकांक्षी थिए ।  तर, अन्तिममा थापाले उम्मेदवार हुने अवसर पाए ।   

सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार भने यम सुब्बा हुने भएका छन् ।  पुख्र्यौली घर ताप्लेजुङ भएका उनी पनि लामो समयदेखि इटहरी रहेर एमाले राजनीतिमा सक्रिय छन् । 

प्रतिक्रिया दिनुहोस