दिल्लीका कप्तान पन्तसहित ३ जनालाई जरिवाना

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १४ : ०५
दिल्लीका कप्तान पन्तसहित ३ जनालाई जरिवाना

 इन्डियन प्रमियर लिग (आईपीएल) टीम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसहित ३ जनालाई जरिवाना गरिएको छ।  आईपीएल २०२२ को ३४औं खेलमा शुक्रबार राति राजस्थान रोयल्सविरुद्ध अन्तिम ओभरमा हाइ फुलटस बलमा नोबल मागपछि उत्पन्न भएको विवादको कारण उनीहरुलाई जरिवाना गरिएको हो।

आईपीएलको नियम अनुसार दिल्लीका कप्तान ऋषभ पन्त, सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई कारबाही गरिएको छ।पन्त र आमरेलाई म्याच फीको शतप्रतिशत र शार्दुल ठाकुरलाई ५० प्रतिशत म्याच फी जरिवना गरिएको छ। अमरेलाई भने एक खेलमा  प्रतिबन्ध लागाइएको छ। उनले बिहीबार दिल्लीले खेल्ने कोलकाता नाइट राइडर्ससँगको खेल गुमाउने छन्।

राजस्थानले दिएको २२३ रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम ओभरसम्म ब्याटिङ गरेको थियो। अन्तिम ओभरमा दिल्लीलाई जितको लागि ३६ रन चाहिएको थियो। जसमा तीव्र गतिका बलर ओबेद म्याककोयको बललाई रोभम्यान पावेलले पहिलो तीन बलमा लगातार तीन छक्का प्रहार गरे। 

तेस्रो फुलटस बलमा उनले मिडविकेटमा छक्का प्रहार गरेपछि दिल्लीको आशा जीवितै रह्यो। अम्पायरले छक्का हानेको संकेत गरे, तर दिल्ली नो–बलको संकेत पर्खिरहेको थियो।नो–बलले दिल्लीलाई अतिरिक्त बल र फ्री हिट प्रदान गर्ने थियो। त्यसपछि पावेलले त्यही कुरा दोहोर्‍याउन सक्थे, जुन बिहीबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा महेन्द्रसिंह धोनीले गरेका थिए। तर, अम्पायरले बललाई नो–बल घोषित गरेनन्, जसका कारण पावेल र कुलदीप यादव मैदानमा रहेका अम्पायर नितिन मेनन र निखिल पटवर्धनसँग विवाद गर्न लागे।

उता, डगआउटमा उपस्थित कप्तान पन्त र टिमका अन्य खेलाडीले पनि पावेल र कुलदीपको समर्थनमा अम्पायरसँग बहस गरेका थिए। 

अम्पायरहरू निर्णयमा अडिग रहेको देखेर डगआउटमा उपस्थित कप्तान पन्तले आफ्ना खेलाडीहरूलाई मैदानबाट बाहिर निस्कन भने। तर, राजस्थानका लेग स्पिनर युजवेन्द्र चहलले कुलदीपलाई त्यसो गर्नबाट रोके।यसैबीच पन्तले दिल्लीका अर्का सहायक प्रशिक्षक प्रवीण अमरेलाई अम्पायरहरूसँग कुरा गर्न पठाए। यता, राजस्थानलाई ठूलो लक्ष्यमा पुर्‍याउने जोस बट्लर पनि पन्तसामू गए। खेल पुन: सुरु भयो, तर दिल्ली विजयबाट १५ रन टाढा थियो। म्याककोयले ब्रेकपछि आफ्नो लाइन सच्याए र ढिलो बलिङ गर्न थाले। र, खेल जिताए।

प्रतिक्रिया दिनुहोस