एएफयुमा ९६ जना उपप्राध्यापकको पदास्थापना

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, १२ : २५
एएफयुमा ९६ जना उपप्राध्यापकको पदास्थापना

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ९६ जना उपप्राध्यापकको पदास्थापन गरिएको छ । विश्वविद्यालयको सेवा आयोगको परीक्षामा सहभागी भएर सफल भएका उपप्राध्यापकहरुलाई विश्वविद्यालयको संकाय र आंगिक कलेजमा पदास्थापना गरिएको विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले जानकारी दिईन् । नव नियुक्त उपप्राध्यापकहरु मध्ये ४२ जनालाई विश्वविद्यालयको कृषि संकाय, वन संकाय र पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा पदास्थापना गरिएको छ ।

५४ जना उपप्राध्यापक विश्वविद्यालयका ९ वटा आंगिक कलेजहरुमा पदास्थापन भएका छन् । नव नियुक्त उपप्राध्यापकहरुको क्षमता अभिवृद्धिका लागि ‘इन्सट्रक्सनल पेडागोजी एण्ड इभालुयसन’ सम्बन्धी तालिम दिईएको छ । चैत अन्तिम साता र बैशाखको पहिलो साता गरी दुई चरणमा पाँच दिने तालिम आयोजना गरिएको विश्वविद्यालयको निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले बताए । तालिममा डा. काशिराज पाण्डे, डा. स्मृतिकला पन्त, डा. सचिन घिमिरे प्रा. डा. भुमिनन्द देवकोटा, प्रा.डा. सुनिला राई, प्रा.डा. अर्जुन कुमार श्रेष्ठ, डा. सुविर सिंह, डा. शिवचन्द्र ढकाल, डा. सुन्दर तिवारी लगायतले प्रशिक्षण दिएका थिए । 

‘विश्वविद्यालय स्थापना भैसकेपछि यति ठूलो संख्यामा शिक्षकहरु स्थायी नियुक्ती लिएको पहिलो पटक हो’ रजिष्ट्रार प्रा.डा. थपलियाले भनिन्, ‘विश्वविद्यालयको सिस्टम के छ, कसरी पठनपाठन गराउने, मूल्यांकन कसरी गर्ने, परीक्षा सञ्चालन, अनुसन्धानका विषयमा ज्ञान दिएर पठाएका छौं ।’ तालिम लिएर जाँदा सुरुदेखी नै आफ्नो जिम्मेवारीमा दक्ष हुने र कार्यसम्पादन गर्न उपयोगी हुने उनको विश्वास छ । विषयगत तालिमहरु पनि अत्यन्त उपयोगी भएकोले कार्यगत सफलता प्राप्त गर्न सहयोगी हुने उनी बताउँछिन् । 

३ असार २०६७ मा ऐन बनाएर नेपाल सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई मान्यता दिएको थियो । त्रिभुवन विश्वविद्यालय (टियू)को आंगिक क्याम्पसको रुपमा चितवनमा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर कृषि क्याम्पस र मकवानपुर जिल्लामा सञ्चालित हेटौँडा वन क्याम्पसलाई समावेश गरेर विश्वविद्यालय स्थापना गरिएको हो । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र रामपुर कृषि क्याम्पस रहेको परिसरमा विश्वविद्यालय स्थापना गरिएको हो । 

विश्वविद्यालयले ०६९ बाट अध्यापनका कार्यक्रम सुरु गरेको थियो । विश्वविद्यालयले ३ संकाय र कास्की, धनकुटा, सिन्धुली, कैलाली, महोत्तरी, बाँके, रोल्पा, उदयपुर र दैलेखमा आंगिक कलेज स्थापना गरेर पठनपाठन सञ्चालन गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस