सरकारविरुद्ध तरुण दलको विरोध प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १५ : ५५
सरकारविरुद्ध तरुण दलको विरोध प्रदर्शन

काठमाडौं । नेपाल तरुण दलले संगठनका अध्यक्ष जितजंग बस्नेतसहितका नेता, कार्यकर्तामाथि प्रहरीले कुटपीट गरेको विरोधमा काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको छ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार गरिएको प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा संगठनका अध्यक्ष बस्नेतसहितका एक दर्जन बढी नेता, कार्यकर्ता प्रहरीको कुटाएबाट घाइते भएपछि त्यसको विरोधमा आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विरोध प्रर्दशन गरिएको हो। सरकारले नागरिक अधिकार हनन् हुनेगरी दमन गरेपछि त्यसको विरोधमा जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन गरिएको नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए।

प्रदर्शनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकार निरंकुश बनेको भन्दै त्यसको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस