आजदेखि मिडिया हाउसविरुद्ध महासंघको आन्दोलन

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १२ : २३
आजदेखि मिडिया हाउसविरुद्ध महासंघको आन्दोलन

काठमाडौं ।नेपाल पत्रकार महासंघले आजदेखि मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने भएको छ। श्रमजीवी पत्रकारको शोषण गर्ने तथा अव्यवसायिकरूपमा कामबाट हटाउने मिडिया हाउसविरुद्ध महासंघले धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको छ।

महासंघले आइतबार पत्रकार सम्मेलन गरि श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा संवादमार्फत समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनुपरेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हट्न नसक्ने अध्यक्ष पोखरेलले बताए । 

‘पत्रकार महासंघले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्छ। श्रमजीवि पत्रकारहरुको हितमा काम गर्ने सन्दर्भमा यसका गुनासोहरुको तथ्यांकहरु छन्’, अध्यक्ष पोखरेलले भने,  ‘त्यो तथ्यांकलाई सम्बोधन गर्ने क्रममा हामी आन्दोलनमै जानुपर्छ भन्ने निष्कर्ष निकाल्न एक वर्षको कार्यकालको समीक्षापछि बाध्य भएका छौं। त्यसकारण आन्दोलनको कार्यक्रम तय गरेका छौँ।’

आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आज (सोमबार) र मंगलबार कान्तिपुर टेलिभिजन र यसपछि नागरिक दैनिकमा धर्नाको कार्यक्रम राखेको छ। ‘श्रमको शोषण भइराखेको छ भनेर लिखित जानकारी हामीलाई आएको छ। हामीले संवादमार्फत् समस्या समाधान गर्ने सन्दर्भमा तदारुकता देखाइएको छैन। ती संस्थाहरुमा आन्दोलनमा जाँदैछौं’, उनले भने । 

पत्रकार दीपा दाहालले आफूलाई कान्तिपुर टेलिभिजनबाट अव्यवसायिक र अपमानपूर्ण ढंगबाट हटाइएको उल्लेख गर्दै न्यायका लागि सहकर्मी पत्रकारहरुसँग आग्रह गरेकी थिइन्। 

‘अनवरतरुपमा काममा क्रियाशील भइरहेको अवस्थामा कान्तिपुर टेलिभिजनले अचानक मलाई निकाल्दा म आर्थिकरुपमा ठूलो संकटमा भासिएको छु। मैले इमान्दारितापूर्वक काम गर्दागर्दै पनि बिना गल्ती कान्तिपुर टेलिभिजनले मलाई निकाल्दा मेरो सामाजिक प्रतिष्ठानमा पनि आँच पुगेको छ’, उनले भनिन्, ‘बजारमा मैले कुनै गल्ती गरेका कारण यो टेलिभिजनले मलाई निकालेको हो भन्ने हल्ला चलाइएको छ। यसले मेरो करिअरमै धक्का लागेको छ। मैले अहिलेसम्म प्राप्त गरेका उपलब्धमाथि नै ठेस लागेको छ। यो घटनासँगै अब अरु मिडियामा पनि मैले आफ्नो क्षमताअनुसार काम नपाउने सम्भावना छ। यो घटनाले मेरो स्वास्थ्य अवस्था पनि नराम्ररी बिग्रिएको छ।’ दाहालले नियतपूर्वक आफूमाथि कान्तिपुर टेलिभिजनले गैरव्यवसायिक कदम चालेको भन्दै न्यायका लागि आह्वान गरिन्। 

प्रतिक्रिया दिनुहोस