झारफुकको नाममा फलामको सरिया तताई कुटपिट गर्दा एक महिलाको शंकास्पद मृत्यु

पत्रपत्रिकाबाट

आइतबार, ०४ बैशाख २०७९, ०७ : ५३
झारफुकको नाममा फलामको सरिया तताई कुटपिट गर्दा एक महिलाको शंकास्पद मृत्यु

महेन्द्रनगर ।  कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउद चैत अन्तिमतिर बिरामी परिन्।

दुई जना धामी जेठानी कमला साउदको घरमा आएको थाहा पाएर चैत २७ गते त्यतै गइन्। झारफुक गरेर फर्किइन्। तर, अर्को दिन धामीझाँक्रीले ‘बोक्सी लागेकाले आफूहरूले निको पारिदिने’ भन्दै कोठामा थुनेर राखे। तर, त्यसको छैटौं दिन थुनिएको अवस्थामै शंकास्पद तवरले रञ्चुलाको मृत्यु भएको खुलेको छ।

‘मेरो मम्मीलाई कोठामा थुने। हामीलाई कसैलाई नभन्नू भनेर धम्की दिए’, रञ्चुलाकी छोरी सरिताले भनिन्, ‘धामीझाँक्रीले घटनाका बारेमा बाहिर भने तिमीलाई पनि यस्तै बनाइदिन्छु भन्दै धम्की दिए।’ उनका अनुसार धामीले न घरका व्यक्तिलाई बाहिर जान दिए न त बाहिरकालाई घरमा पस्न दिए। उनीहरूले बोक्सी लागेको भन्दै आँगनमा धुनी बालेर फलामको सरिया तताई कुटपिट गरेको उनले बताइन्। 

‘मम्मीको हातखुट्टा केही नचल्ने भएपछि मैले के भयो भनेर धामीलाई सोधें’, सरिताले भनिन्, ‘तिम्रो आमालाई तिम्रो हजुरआमाको आत्मा लागेको छ, तिम्रो अंकल आएपछि मात्रै ठीक हुन्छ भने।’ त्यसपछि सरिताले पहाडमा रहेका काकालाई फोन गरेर बोलाइन्। काका आउँदासम्म नै रञ्चुलाको मृत्यु भइसकेको हुन सक्ने स्थानीयवासी बताउँछन्। तर, झाँक्रीहरूले अरूलाई रञ्चुलाको मुख हेर्न दिएनन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस