किभमा जेलेन्सकीसँग बेलायती प्रधानमन्त्री जोनसनले गरे वार्ता

एजेन्सी

आइतबार, २७ चैत्र २०७८, १२ : ३०
किभमा जेलेन्सकीसँग बेलायती प्रधानमन्त्री जोनसनले गरे वार्ता

कोलम्बो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग राजधानी किभमा वार्ता गरेका छन् । सो भ्रमण युक्रेनी जनतासँग ‘एकताको प्रदर्शन’ भएको बेलायतको प्रधानमन्त्रीको कार्यलय डाउनिङ स्ट्रिटले जनाएको छ । बैठकपछि डाउनिङ स्ट्रिटले युक्रेनलाई सहयोग गर्न बेलायतले १२० गाडी र एन्टी–सिप मिसाइल प्रणाली पठाउने बताएको छ ।

जोनसनको किभ भ्रमणको अग्रिम घोषणा गरिएको थिएन । राष्ट्रपतिसँग उनको भेटको तस्बिर लन्डनस्थित युक्रेनी दूताबासले सार्वजनिक गरेको थियो । डाउनिङ स्ट्रिटका प्रवक्ताले भने, ‘प्रधानमन्त्री युक्रेनी जनतासँग ऐक्यबद्धता प्रकट गर्न राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रूपमा भेट्न युक्रेन गएका छन् । ’

बैठक पछि एक विज्ञप्तिमा जोनसनले ‘राष्ट्रपति जेलेन्स्कीको दृढ नेतृत्व र युक्रेनी जनताको वीरता र साहस’को प्रशंसा गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनले बाधाहरूलाई अस्वीकार गरेको छ र रूसी सेनाहरूलाई किभको  ढोकाबाट पछाडि धकेलिदिएको छ ।’ -एजेन्सी

प्रतिक्रिया दिनुहोस