बाँकेको मकैखेतीमा देखियो फौजी कीरा

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १५ : २०
बाँकेको मकैखेतीमा देखियो फौजी कीरा

बाँकेका किसानले लगाएको मकैमा फौजी कीरा देखिएको छ।मकै पकेट क्षेत्र मानिने जिल्लाको हिरमिनियाको मकैखेतीमा फौजी कीरा देखिएको हो।

फौजी कीरा देखिएपछि मकै गोलमेल सकाएका किसानमा चिन्ता छाएको छ। किसान ज्ञानलाल यादवले फौजी कीराले कलिलो मकैको डाठ खाएको बताए। एक विगाहमा मकै लगाएका यादवले फौजी कीरा देखिएपछि विषादी छर्केको बताए।फौजी कीरा लागेको मकै सुक्दै गएका छन्। सिंचाइको व्यवस्था भएकाले हिरमिनियामा वर्षेनी राम्रो मकै उत्पादन हुँदै आएको छ।

हिरमिनियामा मकैका साथै तरकारी खेती हुन्छ। फौजी कीराले त्यसमा पनि असर पुर्‍याएको किसानहरुले बताएका छन्। तीन वर्षअघि अमेरिकाबाट अफ्रिका र भारत हुँदै फौजी कीरा नेपाल प्रवेश गरेको थियो।

फौजी कीराका लागि नेपाली हावापानी उत्तम रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बताउँछन्। ‘फौजी कीरा गर्मीमा बस्छ। यहाँको वातावरण तिनका लागि अनुकूल छ’, उनले भने, ‘बेलैमा विषादी हालेमा फौजी कीराको असर कम गर्न सकिन्छ।’फौजी कीराले बालीनालीमा रातको समयमा आक्रमण गर्छ। दिउँसो लुकेर बस्छ। बाँकेमा ३५ सय ५० हेक्टरमा मकै खेती गरिन्छ। एक हेक्टरमा ९० क्विन्टल उत्पादन हुन्छ।

मकै र तरकारीको पकेट क्षेत्रमा फौजी कीरा देखिएपछि हिरमिनियाका किसान यसपालि राम्रो उत्पादन नहुने चिन्तामा छन्।

प्रतिक्रिया दिनुहोस