दोस्रो संस्करणको प्रधानमन्त्री कप ब्याडमिन्टन सोमबारबाट सुरु हुने

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १५ : १९
दोस्रो संस्करणको प्रधानमन्त्री कप ब्याडमिन्टन सोमबारबाट सुरु हुने

काठमाडौं । दोस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला–वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ गते सोमबारबाट सुरु हुने जनाएको छ ।

प्रतियोगिता बैशाख १ गतेसम्म सञ्चालन हुने संयोजक सुबाश श्रेष्ठले जानकारी दिए । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा देशभरका जिल्ला, क्लब र तीन विभागीय टोलीका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा ३०० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगिता पुरुष एकल (खुला), महिला एकल (खुला), पुरुष युगल (खुला), यू–१५ पुरुष÷महिला, यू–१९ पुरुष÷महिला, मास्टर्स खुला ४५ वर्षमाथि र मास्टर्स खुला ५५ वर्षमाथि गरि कुल ९ विधामा प्रतिस्पर्धा हुनेछ । एकलतर्फ पुरुष र महिलाको विजेताले १ लाख १५ हजार, दोस्रोले ५५ हजार र तेस्रोले १५ हजार पाउने छन् ।

यू–१५ पुरुष र महिलातर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउने छन् । यू–१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३५ सय पाउने छन् ।

पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार पाउने छन् । प्रतियोगीता विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार नेपाली राष्ट्रिय रेफ्री तथा अम्पायरबाट खेलाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस