सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १४ : ५०
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ ।विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो ।  

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अनुसार ६ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा संकेत राख्ने, भर्‍याङ राख्ने, डोरी टाँग्ने लगायत काम गरिरहेका छन् । 

दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्यहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताए । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन्।  आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ ।

यसपटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भर्‍याङ प्रयोग गरिएको उनले जानकारी दिए । यसअघि सन् २०१८ मा ३२ वटा भर्‍याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो । दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ ।आधार शिविरमा हरेक समूहले बौद्ध परम्पराअनुसार पूजापाठ गरी हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस