भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १४ : ३३
भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका मूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन् ।

राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रवार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नम्बर ४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरिन् ।’

मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् । उनले भनिन्, ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नु यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो । सोहीअनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण शुरू गरेका हौं ।’

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अघिल्लो सरकारले गर्न नसकेको काम गठबन्धन सरकारले गरेर देखाएको बताइन् । उनले निर्वाचन नजिकिँदै गर्दा भ्रम छर्ने काम भइरहेकाले मान्छे चिन्न जनतालाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस