भन्सार छलेर भित्र्याउन राखिएका कपडा बरामद

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १४ : २९
भन्सार छलेर भित्र्याउन राखिएका कपडा बरामद

काठमाडौं । पश्चिम नवलपरासीमा भारतबाट भन्सार छलेर भित्र्याउन राखिएको ९ लाख बढी मूल्य पर्ने कपडालाई सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।

भारतबाट भन्सार चोरी गरी ल्याइएका कपडा लुकाएर राखेको सूचना पाएर भन्सार कार्यालयका कर्मचारीसहित हरपुर बेस क्याम्पका सशस्त्र प्रहरीको टोलीले ९ लाख ३१ हजार रुपैयाँ मूल्य पर्ने कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका सूचना अधिकारी डीएसपी माधव रेग्मीले जानकारी दिए ।

पाल्हीनन्दन गाउँपालिकाको मुडेरा गाउँको २ घरको खाली जग्गामा १५ वटा पोकामा त्रिपालले छोपेर राखेको अवस्थामा कपडा बरामद भएको छ । बरामद कपडामा १ हजार ८६२ पिस लेडिज सुट रहेका डीएसपी रेग्मीले जानकारी दिए ।बरामद कपडालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।

पछिल्लो पटक सीमा नाकाबाट नवलपरासीतर्फ कपडा तस्करी हुन थालेपछि सशस्त्र प्रहरीले गस्ती बढाएको छ तर कारोबारमा संलग्न व्यक्तिले भने रातको समय र दिउँसै पनि साइकल र मोटरसाइकलबाट एकान्त बाटोको प्रयोग गरी कपडाको तस्करी गर्ने गरेका छन् । त्यसरी चोरी गरी ल्याइएका कपडालाई परासी हुँदै बुटवल, चितवन, पोखरा, काठमाडौं लगायतका बजारमा पुर्‍याउने गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस