प्रधानमन्त्री देउवा र मोदीबीच विशेष भेटवार्ता : चार वर्षपछि दिल्लीसँग न्यानो संवाद

सफल खबर संवाददाता

आइतबार, २० चैत्र २०७८, ०८ : १९
प्रधानमन्त्री देउवा र मोदीबीच विशेष भेटवार्ता : चार वर्षपछि दिल्लीसँग न्यानो संवाद

काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् ।

हैदरावाद हाउसमा शनिबार करिब पौनै घन्टा लामो विशेष भेटवार्तामा दुवै सरकार प्रमुखहरू द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन र सहकार्यलाई फराकिलो बनाउन सहमत भएका छन् ।नेपाल भारतबीच अल्झिएका विषयलाई आपसी विश्वास र हितका आधारमा समाधान खोज्दै दुई पक्षीय सम्बन्ध र सहयोगलाई थप बलियो बनाउने सहमति भएको छ ।

दुई प्रधानमन्त्रीबीच मात्रको प्रत्यक्ष वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच पनि सामूहिक छलफल भएको थियो । हैदरावाद भेटवार्ता र प्रतिनिधिमण्डलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीहरूले संयुक्त रूपमा सम्बोधन गरेका थिए । हैदरावाद वार्तामा प्रधानमन्त्री देउवाले सीमा समस्याका समाधानका लागि संयुक्त संयन्त्रको प्रस्ताव गरेका थिए र त्यसमा मोदीले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।

दुई प्रधानमन्त्रीबीचको वार्ता सीमा समाधान, सुरक्षा चासो, ऊर्जा विकासको साझेदारी र सहकार्य एवं आर्थिक विकासका लागि सम्पर्क सञ्जाल बढाउने विषयमा केन्द्रित थियो । शीर्ष वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले पारस्परिक हितलाई ध्यानमा राख्दै सहयोग र सहकार्यलाई विस्तार गर्ने सम्बन्धमा समकक्षी भारतका प्रधानमन्त्री मोदीसँग सकारात्मक छलफल भएको बताए ।

नक्सा प्रकरणपछिको न्यानो संवाद
प्रधानमन्त्रीका रूपमा यो देउवाको पाँचौँ औपचारिक भारत भ्रमण हो । तथापि देउवाको भ्रमणलाई परम्परागत निरन्तरताभन्दा पनि फरक महत्व दिएको नेपाल–भारत सम्बन्धका जानकारहरू बताउँछन् । विमानस्थलदेखि प्रम देउवा र प्रतिनिधिमण्डल रहेको आईटीसी मौर्य होटलसम्म देउवाको तस्बिर अङ्कित स्वागत ब्यानर राखिएको थियो भने प्रधानमन्त्री देउवाको सवारी हुँदा पूरै सडक खाली गराइएको थियो ।

झन्डै चार वर्षपछि दिल्लीमा दुवै देशका प्रधानमन्त्री तहमा यसरी वार्ता भएको हो । २०१८ मार्चमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि दिल्लीले नेपालबाट उच्चस्तरको औपचारिक भ्रमणलाई आमन्त्रण गर्न खासै इच्छा देखाएको थिएन ।

खासगरी नयाँ नक्सा प्रकरणपछि नेपाल र भारतबीचको सम्बन्धमा अलि चिसोपना बढेको हो । २०१९ नोभेम्बरमा नेपालको भूभाग लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले एकपक्षीय रूपमा नयाँ नक्सा सार्वजनिक गरेको थियो ।त्यसपछि नेपाल सरकारले २०७७ जेठ ५ गते भारतबाट अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

त्यसलाई संसद्को दुवै सदनबाट पारित गरिएको थियो । त्यसपछि दुई देशबीचको सम्बन्ध तनाव मात्रै सुरु भएन, द्विपक्षीय संवाद र भ्रमणको सिलसिलासमेत लगभग टुटेको थियो ।  नयाँ नक्सा प्रकरणपछि नेपालका प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो । यो भ्रमणसँगै दुई देशबीच हार्दिक संवाद र सहकार्यको ढोका पूर्ववत् रूपमा खोलेको छ । दुई देशबीच अल्झिएका थुप्रै विषयको समाधानका लागि राजनीतिक र कूटनीतिक तहमा सकारात्मक वातावरण तयार गर्न यो भ्रमण सार्थक रहेको छ । गोरखापत्र दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस