चीनले ब्रह्मपुत्र नदीको बहाव मोड्ने, तनावमा भारत

पत्रपत्रिकाबाट

शुक्रबार, १७ कार्तिक २०७४, ०७ : ३१
चीनले ब्रह्मपुत्र नदीको बहाव मोड्ने, तनावमा भारत

बेइजिङ । चीन आफ्नो सुख्खा क्षेत्र शिनजियाङलाई क्यालिफोर्निया जस्तो बनाउन चाहन्छ । यसका लागि उसले ब्रह्मपुत्र नदीलाई सो क्षेत्रमा लाने योजना बनाएको छ । बेइजिङले १ हजार किलोमिटर लामो विश्वकै सबैभन्दा लामो सुरुङ बनाउनेछ जसबाट तिब्बतमा यस नदीको बहाव मोडेर पानीलाई शिनजियाङ लैजाने छ ।

२० औँ शताब्दीको शुरुवातमा क्यालिफोर्निया सुख्खाग्रस्त थियो । तर, सन् १९३३ को सेन्ट्रल भ्याली प्रोजेक्टले उत्तरी क्यालिफोर्नियाबाट पानीको बहावलाई मोडेर सान वाकिन उपत्यकामा लगेपछि त्यो क्षेत्र कृषिका विश्वकै सबैभन्दा उर्वर क्षेत्र बनेको थियो । चीनका इन्जिनियरहरु यसको लागि प्राविधिक परिक्षणमा जुटेको साउथ चाइना मर्निङ पोष्टले एक रिपोर्ट प्रकाशित गरेको छ ।

यसले चीनको सबैभन्दा ठूलो प्रशासनिक डिभिजन शिनजियाङको विशाल मरुभूमि र सुख्खा घाँसे मैदानलाई सिचाइँ गरिनेछ । चीनको लियानिङ प्रान्तको वाटर प्राजेक्ट अन्तर्गत ८५ किलोमिटर लामो दाहूओफाङ सुरुङ निर्माण भइसकेको छ । यो अहिले उसको हालसम्मको सबैभन्दा लामो सुरुङ हो ।

 

चीनको यो कदमबाट भारत चिन्तित देखिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसबाट हिमालय क्षेत्रमा असर पर्ने उसले बताएको छ ।समाचार एजेन्सीमा सोमबार प्रकाशित रिपोर्टका अनुसार प्रस्तावित सुरुङ विश्वकै अग्ला पहाडहरु हुँदै निर्माण गरिनेछ ।

यारलुङ तासाङगपो (ब्रह्मपुत्र) नदीको पानी भारतसहित बंगलादेशले पनि प्रयोग गर्छ । त्यही भएर यो विषयमा नयाँ दिल्लीले यसअघि नै बेइजिङसँग आफ्नो चिन्ता व्यक्त गरिसकेको छ । चीनले यसअघि नै नदीमा बाँध पनि बनाइसकेको छ भने अहिले नदीको बहावलाई नै परिवर्तन गर्ने योजना अघि बढाइरहेको छ ।

ब्रह्मपुत्रको बहाव बदलेर पानी प्रयोग गर्ने चीनको योजनाबारे भारतले द्विपक्षीय बैठकमा बारम्बार उठाउने गरेको छ भने बेइजिङले बनाएको बाँधको विरोध गर्दै आइरहेको छ । यहाँसम्म कि सन् २०१६ मा उत्तराखण्डमा आएको बाढीको जिम्मेवार पनि भारत चीनकै बाँधलाई मान्छ । भारतीय वातावरण विज्ञहरु चीनको पछिल्लो योजनाले वातावरणीय सन्तुलनमा हानी हुने दाबी गर्छन् ।

तर, चीनले भने भारतको आरोप खण्डन गरेको छ । उसले यो बाँध आफ्नो रिभर प्रोजेक्ट चलाउन मात्र बनाएको र पानी संचित गर्ने कुनै मनसाय नरहेको बताउँदै आएको छ । चीन र भारतबीच पानीको विषयमा कुनै सन्धि भएको छैन ।

प्रतिक्रिया दिनुहोस