मृत्युको मुखमा पुगेर फर्किएकी मैयाँको कथा

पत्रपत्रिकाबाट

आइतबार, ०६ चैत्र २०७८, ०८ : २०
मृत्युको मुखमा पुगेर फर्किएकी मैयाँको कथा

काठमाडौं । ‘मैयाँ (परिवर्तित नाम) अब बाँच्लिन जस्तो छैन । गर्नुपर्ने कर्म गरौं ।’ नाडी छामिरहेका पल्लाघरका हजुरबाले आदेश दिए । बिरामी मैयाँ पिँढिमा सुतेकी थिइन् । छेउमा थिए उनकै श्रीमान नियाउरो अनुहार बनाएर बसेका ।

मटानमा बेरेर राखेको गुन्द्री आँगनबाटै देखिन्थ्यो । पल्ला घरकी जेठानीले नयाँ गुन्द्री मोठको छेउमा ओछ्याइन् । मैयाँलाई पिँढिबाट मोठको छेउमा सारियो । तीन छोरी र एक छोरा पिढिमा डाँको छाडेर रुन थाले । श्रीमान रुल्ल टुल्ल हेरिरहे । आँगनमा भिड बढ्दो थियो । पण्डित हजुरबा त्यहिँ थिए दशदानको विधि पुरा हुँदै थियो । मैयाँले दाह्रा किटिन र होस्मा आइन् ।

‘ल होस आयो । अब अस्पताल लान ढिला नगरौं ।’ मोठमा लान आदेश दिने हजुरबाले फेरि भने । हात हातमा फोन थिएन । एम्बुलेन्सलाई फोन गर्न भन्दै रामहरी पसलमा दौडियो । संयोगले बिरामी पुर्याएर बजार फर्किदै गरेको एम्बुलेन्स पसल अगाडी कच्ची सडकमा आइपुगेको रहेछ । घरबाट डोलीमा बोकिएर आएकी मैयाँ एम्बुलेन्स चढिन् । एम्बुलेन्स सिधै काठमाडौं स्थित थापाथलीमा रहेको प्रशुती अस्पताल पुगेर रोकियो ।

तीन दिनपछि गाउँमा नयाँ खबर पुग्यो । मैयालाई ठिक हुँदै छ रे । आज त जाउलो पनि खाइन् रे । घर कुरेर बसेका छोरी खुसी भए । डोली चढेर काठमाडौं हिँडेकी मैयाँ दुई हप्तापछि ठम ठमक हिँडेरै घर फर्किइन् । गाउँले सबै मैयाँको हँसिलो चेहरा देखेर खुसी भए ।

धादिङ जिल्ला निलकण्ठ नगरपालिका ५ कि मैया २५ वर्ष अघि आफुले भोगेको त्यो घटना चाहेर पनि बिर्सन सक्दिनन् । ‘म त मरेर बाँचेको मान्छे बाबै ।’ उनी अहिले पनि भन्छिन् । अहिले हजुरआमा भैसकेकी मैयाँको त्यो नाजुक स्थिती हुनुको मुख्य कारण थियो असुरक्षित गर्भपतन ।

तीन छोरी एक छोरा जन्माएका मैयाँ दम्पत्तिलाई थप सन्तान जन्माउने चाहना थिएन । पाँचौ पटक गर्भवती भएपछि श्रीमान श्रीमतीविच सल्लाह भयो गर्भपतन गराउने । कहाँ कसरि थाहा थिएन । गर्भपतन अपराध हो भन्ने मान्यता थियो भने अस्पतालमा गर्भपतन गरिन्छ भन्ने मैयाँ दम्पत्तिलाई जानकारी नै थिएन । पल्लो गाउँकै एकजना आमैले झारबुटीबाट बनाएको औषधी खुवाएर यस अघि पनि गर्भपतन गराएको सुनेका थिए ।

श्रीमान श्रीमती सल्लाह गरेर आम्मैसंग औषधिको वारेमा बुझ्न गए आम्मैले आफुले झारबुटीबाट बनाएको औषधी खाएपछि एकहप्तामा गर्भपतन हुने र स्वास्थ्यमा कुनै समस्या नहुने जानकारी दिइन् । झारबुटीबाट बनेको औषधी खाएपछि मैयाँ गम्भिर बिरामी परिन् । मैयाका श्रीमान भन्छन् ‘प्रसुती गृहमा पुगेर डक्टरलाई देखाएपछि थाहा भयो । गर्भपतन हुने क्रममा गर्भमा रहेका केही टुक्रा पाठेघरमै अड्किएको रहेछ । अस्पतालमा क्युटेक्ट गरेपछि ठिक भयो ।’ राजधानी दैनिकमा खबर छ ।