विश्वविद्यालयमा हड्ताल नगर्न प्राध्यापकहरुलाई शिक्षामन्त्री पौडेलको आग्रह

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १७ : १५
विश्वविद्यालयमा हड्ताल नगर्न प्राध्यापकहरुलाई शिक्षामन्त्री पौडेलको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हड्ताल नगर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताए ।

‘लामो समयसम्म पढाइ अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्‍यो। प्राध्यापक संघले होमवर्क गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस्’ उनले भने ।

लामो समयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दा विश्वविद्यालयको कामकाज प्रभावित भएको छ ।प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजना रहेको पनि मन्त्री पौडेलले बताए ।

‘राष्ट्रिय प्रकृतिका विश्वविद्यालयहरू विषयगत विशिष्टिकरणका आधारमा केन्द्रीय विश्वविद्यालयको मातहतमा रहने गरी तयारी गरेका छौं’ मन्त्री पौडेलले भने, ‘उच्च शिक्षालाई नियमन गर्ने गरी ऐनमाथि छलफल भइरहेको छ ।’

छलफलमा नेपाल प्राध्यापक संघको तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादा क्रमः २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा प्रकाशित भइसकेकाले कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरे ।

प्राध्यापकहरुको तलबमान सार्कस्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवत्तिभरण उपलब्ध गराउन माग गरे ।

 

प्रतिक्रिया दिनुहोस