संसद्मा पार्टी नीतिविपरीत किन उभिन्छन् नेता भिम रावल ?

पत्रपत्रिकाबाट

सोमबार, ३० फागुन २०७८, ०७ : ४९
संसद्मा पार्टी नीतिविपरीत किन उभिन्छन् नेता भिम रावल ?

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले गत भदौदेखि सभामुखअघिको वेलमा नाराबाजी गर्दै आएको छ। एमालेको एक मात्रै माग भनेको १४ जना ‘गैरसांसद’ लाई सभामुखले मान्यता दिएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने रहेको छ। तर एमालेका नेता भीम रावल भने नाराबाजीमा सहभागी हुँदैनन्।

उनले नाराबाजीबीचमा प्रतिपक्षको सिटमा बसेर दुई वटा संसद् बैठकमा आफ्ना भनाइ राखिसकेका छन्। सभामुखले पनि नेता रावललाई बोल्न चाहेमा भनाइ राख्न समय दिने गरेका छन्। फागुन १५ गते प्रतिनिधिसभामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसिसी० निर्णयार्थ प्रस्तुत गर्दा उनले त्यसको विपक्षमा भनाइ राखेका थिए, मतदान पनि विपक्षमा गरेका थिए। त्यतिबेला एमालेका अन्य सांसदले भने वेलमा नाराबाजी गरिरहेका थिए। पार्टी नीतिअनुसार उनीहरू मतदानमा सहभागी भएनन्।

त्यसपछि संसद्का तीनवटा बैठक बसेका छन्। २२ गतेको संसद् बैठकमा नेता रावल एक्लै सिटमा बसिरहेका थिए। संसद्को आइतबार बसेको बैठकमा उनले समय लिएर आफ्नो भनाइ राखे। उनले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहँदा सरकार नबोल्नु लाजमर्दो विषय भएको बताए। उनले यसबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरे।

‘भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु लाजमर्दो कुरा हो। नेपाल सरकारको यसतर्फ गम्भीर रूपले ध्यानाकर्षण गराउँछु र म माग गर्न चाहन्छु, नेपाल सरकारका तर्फबाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ’, उनले भने।

यसअघि रावलले १५ गतेको संसद् बैठकमा समय लिएर एमसिसीविरुद्ध भनाइ राख्दा संसदीय दलको नेतासमेत रहेका एमाले अध्यक्ष केपी ओलीले नेता रावल हिरो हुन खोजेको टिप्पणी गरेका थिए। त्यसको जवाफ रावलले सामाजिक सञ्जालबाट यसरी दिए, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरूप संसद्मा बोल्दा मैले हिरो हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर महाहिरो हुनुभएको भए म खुसी नै हुनेथिएँ। देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरैमाथि हुन्छ, चेतना भया।’ नागरिक दैनिकमा खबर छ  । 

प्रतिक्रिया दिनुहोस