बलात्कार मुद्दामा अपहरणसमेत ठहर

पत्रपत्रिकाबाट

सोमबार, २३ फागुन २०७८, ०७ : ५७
बलात्कार मुद्दामा अपहरणसमेत ठहर

काठमाडौं । सर्वोच्च अदालतले बालिका बलात्कार मुद्दामा अपहरण तथा शरीर बन्धकको सजायसमेत थप गरी १७ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना ठहर गरेको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले १३ वर्षे बालिका बलात्कारको मुद्दामा बाआमाको सहमतिबिना अपहरण गरेको ठहर गर्दै सजाय सुनाएको हो। २०७८ माघ २४ मा भएको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो।

सर्लाहीको लालबन्दीमा १३ वर्षीया बालिका बलात्कृत भएको ठहर गर्दै सर्वोच्चले थप सजायसहित फैसला गरेको हो। लालबन्दीका एक निजी विद्यालयका प्रिन्सिपलले बालिकालाई होटलमा पुर्‍याई बलात्कार गरेका थिए।

सर्वोच्चले कुनै पनि बालिकालाई अभिभावकको अनुमतिबिना लैजानु अपहरण ठहर गर्दै जबर्जस्ती करणीसहित अपहरण तथा शरीर बन्धकमा सजाय थपेर फैसला सुनाएको हो। सर्वोच्चले बलात्कारको मुद्दामा १० वर्ष र शरीर बन्धकमा ७ वर्ष गरी १७ वर्ष सजाय ठहर गरेको हो । नागरिक दैनिकमा खबर छ ।