कांग्रेस चितवनको नेतृत्व चयनका लागि मतदान हुँदै, सभापतिमा ५ जनाको उम्मेदवारी, कसको पल्ला छ भारी ?

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, ०९ : ३९
कांग्रेस चितवनको नेतृत्व चयनका लागि मतदान हुँदै, सभापतिमा ५ जनाको उम्मेदवारी, कसको पल्ला छ भारी ?

चितवन । नेपाली कांग्रेस चितवनको नयाँ कार्यसमिति चयनका  लागि आज निर्वाचन हुँदैछ ।  नारायणी कला मन्दिरमा आज बिहान साढे ९ बजेदेखि मतदानको प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । ४९ सदस्यीय जिल्ला कार्यसमितिका लागि १५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

सभापतिमा पाँच जनाले उमेदवारी दिएका छन् । हालका जिल्ला सचिव उत्तम जोशी, उपसभापति कैलाश कोइराला, प्राडा सूर्यकान्त घिमिरे, बागमती प्रदेशमन्त्री मिलनबाबु श्रेष्ठ, र राजेश्वर खनालले सभापति पदमा उमेदवारी मनोनयन दर्ता गरेका छन् । अधिवेशनले सात पदाधिकारीसहित ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । 

यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ । नेतृत्वका लागि पार्टी संस्थापन र इतर समूह गरि ५ जना उमेदवार मैदानमा छन् । सभापति शेरबहादुर देउवा समूहबाट १ जना र शेखर कोइराला समूहबाट ४ जनाले मनोनयन दर्ता गरेका छन् । ०६४ मा पार्टी एकता भएपछि एक पटक पनि जिल्लाको नेतृत्व गर्न नपाएको सभापति देउवा समूह इतर पक्षबाट धेरै उमेदवार हुँदा उत्साहित देखिएको छ । देउवा खेमाबाट मिलनबाबु  श्रेष्ठमात्रै उम्मेदवार हुँदा कोइराला खेमाबाट प्राडा सूर्यकान्त घिमिरे, राजेश्वर खनाल, उत्तम जोशी र कैलाश कोइराला उम्मेदवार छन् ।

घिमिरे नेविसंघका पूर्व जिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन् । खनाल महासमिति सदस्य हुन् भने कोइराला हालका उपसभापति र जोशी सचिव छन् । श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवं मन्त्री रहेका छन् ।  संस्थापनबाट १ र इतरबाट ४ जना उमेदवार रहेकाले पहिलो चरणमा सभापति छनोट नहुने आँकलन गरिएको छ । दोस्रो चरणमा डा घिमिरे र मन्त्री श्रेष्ठबीच प्रतिस्पर्धा हुने अनुमान छ । काँग्रेसमा दुई जनाभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । यता आफू पक्षीय उम्मेदवारलाई जिताउन केन्द्रीय नेताहरु नै सक्रिय भएका छन् ।

मन्त्री श्रेष्ठलाई जिताउन संघीय राज्यमन्त्री एवं केन्द्रीय सदस्य उमेश श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ लगायत खुलेरै लागेका छन् । इतर पक्षमा कोइराला खेमाबाट ४ उमेदवार भएपछि  केन्द्रीय नेताहरु मौन छन् । पार्टी सभापति जितनारायण श्रेष्ठले धेरै उमेदवार हुनु चितवनको संस्कार बनिसकेकाले दोस्रो चरणमा मात्र   चुनावको आंकलन हुने बताए  । कोइराला समूहको साझा उमेदवार तय गर्न केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लगायतले  पहल गरेका थिए । तर चार जनाले सभापतिमा मनोनयन दर्ता गराएका छन् । 

यस्तै‚ दुई उपसभापतिका लागि १५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा शालिक शर्मा पौडेल, राजन गौतम, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, नीलमणि पाठक, तेजप्रसाद अधिकारी, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपाने छन्  ।यसैगरी २ जना सचिवका लागि आठ जनाको उम्मेदवारी परेको छ। दुई सहसचिवको लागि १० जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । यसअघि, विविध कारणले कांग्रेस चितवनको अधिवेशन पटकपटक सर्दै आएको थियो । 

प्रतिक्रिया दिनुहोस