ललितकतालको विकासका लागि सरकारको विशेष प्राथमिकताः मन्त्री आले

रासस

आइतबार, १५ फागुन २०७८, १४ : ५३
ललितकतालको विकासका लागि सरकारको विशेष प्राथमिकताः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मुलुकको ललितकला र संस्कृतिको संरक्षण एवम् विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताएका छन।
 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १२औँ प्राज्ञसभा को आज उद्घाटन गर्दै उनले ललितकलाको विकास, प्रवद्र्धन गर्न मन्त्रालयले योजनाबद्ध कार्यक्रम ल्याउने विश्वास दिलाए । मन्त्री आलेले भिन्न–भिन्न चार प्रज्ञा प्रतिष्ठानलाई एकीकृत गरेर, नाट्य, कला, संस्कृतिको प्रवद्र्धनमा ध्यान केन्द्रित गरिने बताए। उनले भने,“ललितकलाको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्छौ, तीन÷चार वटा प्रतिष्ठान बनाएर काम छैन, पहिला पनि (नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेको प्रतिष्ठान) एउटै थियो । यी सबैलाई एउटै प्रतिष्ठान मातहतमा समाहित गरेर यस क्षेत्रको विकास प्रवद्र्धनका लागि अघि बढ्छौ ।”

कार्यक्रममा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा सुनिलबाबु श्रेष्ठले राष्ट्रको मौलिक पहिचान प्रवद्र्धनमा कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहेको भन्दै कलालाई मौलिकताको साथसाथै यसलाई व्यावसायिक रुपमा पनि अघि बढाउनसके अर्थतन्त्रमा समेत टेवा पुग्नसक्ने बताए । उनले विज्ञान र कलालाईसँगसँगै लैजाने गरी विज्ञान प्रतिष्ठानले योजनाबद्ध कार्यक्रम अघि सारेको जानकारी दिए। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकूलपति के–के कर्माचार्यले प्राज्ञ सभाले प्रष्ठिानको आगामी वर्षको रणनीति तय गर्ने जानकारी दिए । यस्तै सभाले प्रतिष्ठानको कार्यविधि, आगामी वर्षको अनुमानित प्रस्तावित बजेट कार्यक्रमलाई पारित गर्नेछ । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा  प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले कला, संस्कृतिको विकासका लागि सबै नाट्य प्रतिष्ठानहरुले समन्वयका साथ योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने खाँचो औंल्याए । प्राज्ञ गङ्गा सुवेदीले मुलुकको कुना कन्दरामा लुकेका कला र संस्कृतिलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम अघि बढाउन जरुरी भएको उल्लेख गरे।

यसैबीच प्रतिष्ठानले ललितकलामा आवद्ध कलाकारलाई परिचयपत्र वितरणको प्रारम्भ गरेको छ । प्रतिष्ठानका उपकूलपति कर्माचार्यले परिचयपत्र लिएर वितरण शुभारम्भको घोषणा गरे । प्रतिष्ठानका पदाधिकारी तथा परिषद् सदस्यलाई वितरण गरिएको यो परिचयपत्र ललितकलामा आवद्ध देशभरका कलाकारलाई प्रदान गरिनेछ । यस्तो परिचयपत्र लिन सम्बन्धित कलाकारले निवेदन दिनुपर्नेछ । विभिन्न चार ‘क्याटोगोरी’ मा प्रतिष्ठित, विशिष्ठ, वरिष्ठ र कलाकार परिचयपत्र उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस