मध्यरातमा एसिड प्रहार

पहिला रक्सी खुवायो, पछि एसिड खन्यायो : महर्जन (भिडियोसहित)

सुरेन कुँवर

सोमबार, २४ बैशाख २०७५, १७ : ३९

चितवन । दुई हप्ता अगाडि भएको एसिड काण्ड सेलाउन नपाउँदै चितवनमा एसिड प्रहारको अर्को घटना भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा आइतबार राति साढे १२ बजेको समयमा एउटै घरमा डेरा गरी बस्ने वीरबहादुर मर्जहनलाई सोही घरमा डेरा गरी बस्ने सुजितकुमार विकले एसिड हानेका हुन् ।
एसिड प्रहार गर्ने ३० वर्षीय सुजित नारायणगढको मनकामना सुनचाँदी पसलमा काम गर्छन् । एउटै घरमा बस्ने भएकाले दुई जनाबीच रामै्र चिनजान थियो । सुजितले डेरामा दुई जना साथी पनि सँगै ल्याएका थिए । सुजितले आफ्नी श्रीमतीलाई ९ महिनाको छोरासहित माइत पठाएको ४ दिन पुगेको थियो ।
किराना सामानको होलसेल व्यापार गर्ने ३५ वर्षीय वीरबहादुर काम सकिएपछि आइतबार साँझ डेरामा पुगेका थिए । डेरामा पुगेका वीरबहादुरलाई सुजितले सँगै बसेर मदिरा पिउन प्रस्ताव गरे । वीरबहादुरले सुरुमा मदिरा पिउन अस्वीकार गरे । निकै कर गरेपछि वीरबहादुरले सुजित र उनका दुई जना साथीलाई आफ्नो कोठामा बोलाई मदिरा पिउन साथ दिए ।
‘हामी सबैले पिउँदै गएपछि उसले मलाई वाईफाईको पासवर्ड दिनुहोस् भन्यो । मैले पासवर्ड दिन मिल्दैन भनेँ’ वीरबहादुरले भने, ‘वाईफाई चलाउने भए महिनाको आधा रकम तिरेर चलाउ भनेपछि सोही विषयमा मेरो र उसको थोरै भनाभन भयो । त्यसपछि उनी आफ्नो डेरामा गए ।’
सुजित साथीसहित आफ्नो कोठामा गएपछि वीरबहादुर कोठाको ढोका बन्द गरेर सुते । वीरबहादुर ओछ्यानमा पल्टिएको १० मिनेटपछि सुजितले ढोका ढक्ढकाए । वीरबहादुरले को हो भनी प्रश्न गरे । सुजितले दाई म हो भन्दै ढोका खोल्न लगाएर बाटामा ल्याएको एसिड शिरदेखि खन्याइदिए ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको बेडबाट वीरबहादुरले भने, ‘एसिड एकदमै गन्हायो । एकछिनमै पोल्न सुरु ग¥यो । अनि म छट्पटाउन थालेँ । मसँगै रहेको मेरो छोरा चिच्याएपछि घरका सबै जना जम्मा भएर मलाई अस्पताल ल्याए ।’
वीरबहादुरको दाहिने पट्टिको भागमा एसिडले बढी मात्रमा जलेको छ । त्यस्तै दाहिने आखाँमा एसिड परेको छ । वीरबहादुरले भने, ‘यसअघि केही पनि रिसइबी थिएन । बिनाकारण आफूलाई एसिड प्रहार गर्ने सुजितलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’ चितवन मेडिकल कलेजको सर्जिकल आईसियुमा उनको उपचार भइरहेको छ । वीरबहादुरका भाइ आशमान महर्जन सुजितले योजनाबद्ध तरिकाले एसिड छ्यापेको बताउँछन् । श्रीमतीलाई माइत पठाएर डेरामा साथी ल्याएर आफ्नै खर्चले मदिरा खुवाएर एसिड हानेको उनले बताए ।
वीरबहादुरलाई एसिड प्रहार गरेपछि सुजित डेराबाट भागे । उनकै साथीहरुले फोन गरेर सम्पर्कमा ल्याएपछिमात्रै सोमबार बिहान जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर नजिकबाट सुजित पक्राउ परे । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले सुजितलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले एसिड हान्ने सुजित विकलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको जानकारी दिनुभयो । जिल्लामा एसिडको प्रहारको घटना बृद्धि हँुदै गएकाले अब एसिडको किनबेचमा कडाई गरिने उहाँले बताउनु भयो । दुई हप्ताअघि भरतपुर ४ त्रिचोकमा ट्रफिक प्रहरीले एक जना महिलामाथि एसिड प्रहार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस