राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणका खेलहरु भरतपुरमा हुने, महानगरले दियो २० लाख

प्रकाश सिग्देल

मंगलबार, ०३ फागुन २०७८, १८ : ३७
राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणका खेलहरु भरतपुरमा हुने, महानगरले दियो २० लाख

चितवन । दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरणको खेलका लागि भरतपुर महानगरले २० लाख सहयोग गर्ने सम्झौता भएको छ । लिगको पहिलो चरणको खेलहरु सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ एन्फा र भरतपुर महानगरपालिकाबीच मंगलबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महानगरको तर्फबाट मेयर रेनु दाहालले हस्ताक्षर गरेका छन ।पहिलो चरणका खेलहरु फागुन १० गतेबाट सुरु हुनेछ । लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछ । खेलहरु भरतपुर ७ स्थित कृष्णपुर खेल मैदान र भरतपुर १९ को खेल मैदानमा हुनेछ ।

यस पटक महिला लिगमा तीन बिभागीय टोलीहरु नेपाल प्रहरी क्लब, त्रिभुवन आर्र्मी क्लब र शशस्त्र प्रहरी बल (एपीएफ) सहित, वालिङ, बिराटनगर, चपुर, धनगढी र ललितपुर भिड्ने छन । यस अघि पहिलो संस्करणको महिला लिग काठमाडौंमा भएको थियो ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्की, उपाध्यक्ष बिजय घले, भरतपुर भरतपुर महानगरका प्रवक्ता अरुण पिडित भण्डारी,२१ का वडाध्यक्ष एवं महानगरको खेलकुद बिकास समितिका अध्यक्ष चित्रसेन अधिकारी, भरतपुर १९ गते कर्णबहादुर गुरुङको रोहबरमा सम्झौता भएको हो ।

सम्झौता पछि बोल्दै महानगर प्रमुख दाहालले कार्यकालको अन्तिम समयमा राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको बिषय भएको बताईन । यस्तै प्रमुख र उपप्रमुख पनि महिला नै भएको महानगरमा महिला लिग हुनु गर्वको बिषय भएको उनको भनाइ थियो ।

यस्तै एक वडा एक खेल मैदान अन्तर्गत महानगर भित्रका मुख्य पाँच वडामा खेल मैदान निर्माण गरिएको समेत उनले बताईन ।एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकोले राष्ट्रिय महिला लिगको पहिलो चरणका खेलहरु यहाँ आयोजना गर्न लागिएको बताए । चितवन फुटबलको उर्वर भूमि भएकोले पनि भरतपुरमा लिग आयोजना गर्न महानगरसँग सम्झौता गरिएको उनको भनाइ थियो । यसले देश विदेशमा भरतपुरको प्रचार प्रसारमा सहयोग मिल्ने समेत उनले बताए ।

सम्झौता अनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई उपलब्ध गराउने २० लाख रुपैयाँमा महानगरको ११ लाख र  वडा नम्वर १९ को  ९ लाख रुपैया रहेको छ ।  

 

प्रतिक्रिया दिनुहोस