केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न दिन्न : शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, १४ : ३८
केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न दिन्न : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजधानीको केन्द्र केशरमहलमा रहेको केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न नदिने स्पष्ट पारेका छन् ।

आइतबार केशर पुस्तकालयको अवस्थाको निरीक्षण गर्दै मन्त्री पौडेलले पुस्तकालयको बाहिर रहेको जमिन निजी प्रयोजनका लागि दिन खोजिएको समाचारप्रति ध्यानाकर्षण भएको बताए । उनले कुनै पनि प्रकारको नीजि प्रयोजकका लागि शिक्षा मन्त्रालय मातहको भौतिक सम्पती प्रयोग गर्न नदिने उल्लेख गरे ।

मन्त्री पौडेलले कहीँ कतै मन्त्रालय मातहतको भौतिक सम्पत्ति व्यापारिक प्रयोजनका लागि प्रयोग भएको भए फिर्ता ल्याउने बताए । त्यस्तै उनले भूकम्पबाट क्षति भएको पुस्तकालयको ६ महिनाभित्र पुननिर्माण हुने दावी गरे ।

बजेट लगाएको समस्या देखिए मन्त्रालयले समाधान गर्ने भन्दै उनले अनुगमनका क्रममा तोकिएको समयभित्रै पुननिर्माण गर्न निर्देशन दिइएको जानकारी दिए ।अनुगमनका क्रममा मन्त्री पौडेले ऐतिहासिक बस्तुको संरक्षण गरी पुननिर्माण गर्न पनि निर्देशन दिएका थिए । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरका परिवारजनले केशर पुस्तकालयसहित ३४ रोपनी जमिन सरकारलाई दान दिएपछि शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ ।

पुस्तकालयमा ६० हजारभन्दा बढी पुस्तक, महत्वपूर्ण सामग्री, पाण्डुलिपि, पेन्टिङ, तस्बिर, जनावरको ओखटोपहारसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस