नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

पत्रपत्रिकाबाट

विहीबार, १३ माघ २०७८, ०८ : ११
नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयारी भएको हो ।

प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थपका लागि संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालय पठाएको थियो । प्रधान कार्यालयको सो प्रस्तावलाई गृह मन्त्रालयले अघि बढाए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा एआईजी थपसम्बन्धी फाइल ती दुई मन्त्रालयमा नै घुमेको घुम्यै थियो ।स्रोतका अनुसार पछिल्लो समयमा अर्थ मन्त्रालयसमेत एआईजी थप्ने प्रक्रियामा सहमत बनेपछि प्रक्रिया थप अघि बढेको हो । मन्त्रिपरिषद् बैठकबाट एआईजी थपको निर्णय हुनेछ ।

यसअघि एआईजी थपको विषयमा अर्थ मन्त्रालयले भने बजेट अभाव देखाउँदै अड्काउँदै आइरहेको थियो । एआईजी दरबन्दी थपिँदा तीनमध्ये एउटा कोटा अर्थमन्त्री जनार्दन शर्मानिकटलाई दिने विषयमा उच्च तहमा सहमति बनेपछि दरबन्दी थपको प्रक्रिया अघि बढेको बताइन्छ । ‘राष्ट्रिय सभा निर्वाचनका कारण केही ढिला भएको हो, प्रक्रिया अघि बढिसकेको छ, मन्त्रिपरिषद्बाट छिट्टै निर्णय हुन सक्छ,’ स्रोतले भन्यो ।

एआईजी थपको विषयमा सरकारले राष्ट्रिय सभा निर्वाचनअघि नै निर्णय लिन खोजेको भए पनि निर्वाचन आचारसंहिताका कारण निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने बाध्यता थियो । तर, सहमति माग्दा आयोगले सहमति दिने नदिने टुंगो थिएन । अर्थ मन्त्रालयले भने निर्वाचन आयोगसँग सो विषयमा चासो भने राखेको थियो । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस