कर्णाली प्रदेश : एक साताभित्रै सरकारलाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

पत्रपत्रिकाबाट

बुधबार, ०५ माघ २०७८, ०७ : ५४
कर्णाली प्रदेश : एक साताभित्रै सरकारलाई पूर्णता दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले एक साताभित्रै कर्णाली प्रदेश सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउने बताएको छ। मंगलबार बसेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीसँग छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो। मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय रहेको कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रले चार वटा मन्त्रालय दावी गर्दै आएको छ।  

माओवादी केन्द्रले अब मन्त्रालयको संख्यामा विवाद नगर्ने भएको छ। सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्यामा विवाद हुँदा जीवनबहादुर शाही नेतृत्वको सरकारमा माओवादी केन्द्र र समाजवादीबाट एक–एक जना मन्त्री छन्। ‘दलीय गठबन्धनको सरकार भएकाले मन्त्रालयको विवाद छलफलबाटै टुंगो लगाउने निर्णय भएको छ,’ माओवादी संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले भने, ‘अब मन्त्रालय संख्याको विवाद रहेन।’  

प्रमुख सचेतक विष्टले कांग्रेस र समाजवादी केन्द्रसँग वार्ता र छलफलका लागि दलका नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिइएको बताए। ‘तीन दलका शीर्ष नेतृत्व बसेर मन्त्रालय बाँडफाँड टुंगिन्छ,’ उनले भने, ‘एक हप्ताभित्रै कर्णाली प्रदेश सरकारले पूर्णता पाउँछ।’ माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन दलको तर्फबाट पहल गर्ने निर्णय पनि गरेको छ । नागरिक दैनिकमा खबर छ ।