फाराम भरेको भोलिपल्टै सवारी लाइसेन्सको पालो

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, ०९ : ००
फाराम भरेको भोलिपल्टै सवारी लाइसेन्सको पालो

काठमाडौं । देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाईन फारम भर्दा परीक्षाका लागि महिनौँ समय समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोली पल्ट नै पालो आउने गरेको छ । 

उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट नै परीक्षा हुने गरेको कार्यालय प्रमुख सुवास कार्कीले बताए । यहाँ सेवा भर्खरै सुरू भएकोले कतिपयले थाहा नपाएर अनलाईन फारम भर्नेको चाप कम रहेको छ । जसका कारण छिटो पालो आएको उनले बताए ।  

सङ्ख्यात्मक रूपमा मोटरसाइकलका लागि फारम भर्नेको सङ्ख्या बढि रहेकोले दुई महिनासम्म लाग्ने गरेको छ । “चारपाङ्ग्रे र स्कुटरको अनलाईन फारम भरेको भोलिपल्ट नै पालो हुन्छ,” कार्यालय प्रमुख कार्कीले भने, “मोटरसाइकलको भने विस्तारै समय लम्बिदै गएको छ । अहिले मोटरसाइकलको दुई महिना लाग्न थालेको छ ।”

उदयपुरमा छिटो हुने भएपछि टाढा–टाढाबाट समेत आउने गरेका छन् । गत  कात्तिक  २८  देखि  कार्यालयले उदयपुरमा सुरू गरेको सवारी अनुमतिपत्रको परीक्षा प्रक्रियाले सर्वसाधारणलाई प्रभावकारी सेवा दिइरहेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस