‘ए’ डिभिजन लिग : पुलिस र ब्रिगेडको बराबरी

सफल खबर संवाददाता

सोमबार, २६ पुस २०७८, १५ : २३
‘ए’ डिभिजन लिग : पुलिस र ब्रिगेडको बराबरी

काठमाडौं । नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १–१ को बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सोमबार भएको आठौं चरणको अन्तिम खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन् ।खेलको दोस्रो मिनेटमै रोशन रानामगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । शिशिर लेखीको प्रहार पुलिसका गोलकिपर सत्रुघनकुमार चौधरीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बललाई रोशनले सुन्दर फिनिस गरेका थिए ।

त्यसको दुई मिनेट नबित्दै पुलिसले बराबरी गोल फर्काएको थियो । डिफेन्डर बुद्ध तामाङको फ्रि किक मार्फत गरेको गोलमा पुलिस खेलमा फर्किएको थियो ।यस्तै, रुडी जोनाथन एमबाकोपको फ्रिकक बाहिरिदा ब्रिगेड ब्वाइजले १३औं मिनेटमा अग्रता दिने अवसर गुमायो ।

पुलिसले पनि खेलको २५औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । निरकुमार राईको कर्नरमा डिफेन्डर सन्तोष हेमरनले गरेको हेडर गोलपोस्ट भन्दामाथिबाट बाहिरिएको थियो । त्यसको पाँच मिनेटपछि निरकुमारको प्रहार क्रसबारमा लागेर फर्कदा पुलिसले पुनःअग्रता लिने अवसर खेर फाल्यो ।

पहिलो हाफमा थुप्रै गोल गर्ने अवसरहरु सदुपयोग गर्न नसकेका दुवै टोलीले दोस्रो हाफमा औसत प्रदर्शन गरेका थिए ।यस्तै,७६औं मिनेटमा पुन ब्रिगेड गोल गर्न असफल भयो । डिफेन्डर इबोडे ओटुले पेनाल्टी एरियाबाट गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरिले पन्च गरेका थिए । त्यही रिबाउन्डबलमा कप्तान अनिल गुरुङको प्रहार पुनः गोलकिपरले बचाए ।

बराबरीसँगै पुलिस ८ खेलमा ७ अंकसहित तालिकाको ११औं स्थानमा छ । ब्रिगेड समानसमान खेलमा पाँच अंक जोड्दै १२औं स्थानमा छ । यो सँगै आठौं चरणको समाप्ति भएको छ । मछिन्द्र शीर्ष स्थानमा छ  ।

प्रतिक्रिया दिनुहोस