‘ए’ डिभिजन लिग : मच्छिन्द्रको अपराजित यात्रा कायमै

सफल खबर संवाददाता

शनिबार, २४ पुस २०७८, १५ : ४२
‘ए’ डिभिजन लिग : मच्छिन्द्रको अपराजित यात्रा कायमै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबविरुद्ध १–० गोल अन्तरको जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मछिन्द्र आत्मघाती गोल उपहारबाट विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्सले आत्मघाती गोल गरेको थियो ।

खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेका थिए । मछिन्द्रका कप्तान सुजल श्रेष्ठको क्रसमा शशील कुमार थापाले हेड गरेपछि प्राप्त बल क्लियर गर्ने क्रममा रोनिलले आफ्नै पोस्टमा गोल गरे ।

जुन गोल मछिन्द्रको जितमा निर्णायक बन्यो । जितसँगै मछिन्द्रले ८ खेल २० अंक जोडेको छ । र, मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस