कोरोना संक्रमण : तेस्रो लहरको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

शुक्रबार, २३ पुस २०७८, ०७ : ४९
कोरोना संक्रमण : तेस्रो लहरको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश

काठमाडौं । भारतमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिन थालेपछि त्यहाँका विभिन्न सहरमा रहेका नेपाली घर फर्कने क्रम बढेको छ। भारतबाट फर्किएका नेपालीमा कोराना संक्रमण दर पनि बढ्दै गएको देखिएको छ। धनगढीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्कनेको एन्टिजेन जाँच गर्दा दिनानुदिन संक्रमितको संख्या बढेर गएको देखिएको हो।

पहिला सीमा नाकामा जाँच गर्दा दिनमा एकदुईजनामा संक्रमण देखिने गरेकोमा पुस १९ गतेयता संक्रमण हुनेको संख्या बढ्दो क्रममा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरकी महेन्द्रा भट्टले बताइन्। पुस १९ गते ९सोमबार० गौरीफन्टा, गड्डाचौकी र झुलाघाट नाकाबाट फर्केका २४ जनामा संक्रमण देखिएको थियो।

गौरीफन्टा र गड्डाचौकी नाकामा मंगलबार एन्टिजेन जाँच गर्दा ३२ जनामा कोरोना संक्रमण देखियो, बुधबार ४६ जनामा कोराना पोजेटिभ देखियो। बिहीबार गड्डाचौकी नाकामा जाँच गर्दा ५९ र गौरीफन्टा नाकमा जाँच गर्दा ४७ जना गरी १ सय ६ जनामा संक्रमण देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ओम जोशीले बताए।

‘दुईतीन दिनयता भारतबाट फर्कनेमा संक्रमण दर बढेको पाइएको छ’, जोशीले भने, ‘संक्रमण बढेपछि नियन्त्रण, रोकथाम र उपचारका लागि कुनै कसर बाँकी नराख्ने गरी तयारी थालेका छौं।’  

सुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले पनि भारतबाट फर्कनेमा कोरोना संक्रमण बढेकाले रोकथाम र उपचारका लागि योजना बनाएर लागु गरिने बताए। संक्रमितको संख्या बढेसँगै भएका आइसोलेसन कक्ष अपुग हुन थालेकाले थप्न लागिएको उनले बताए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस