किन भयो वायुसेवा निगमको दुईवटा विमान एकै दिन ग्राउन्डेड ?

पत्रपत्रिकाबाट

विहीबार, १५ पुस २०७८, ०७ : ५१
किन भयो वायुसेवा निगमको दुईवटा विमान एकै दिन ग्राउन्डेड ?

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकै दिन ग्राउन्डेड भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमको विमान ग्राउन्डेड भएको हो ।

निगमको मंगलबार ९एन–एकेडब्लु कलसाइन भएको न्यारोबडी विमान र ९एन–एलवाई कलसाइन भएको वाइडबडी विमानमा अचानक प्राविधिक समस्या देखिएर ग्राउन्डेड भएको निगमले जनाएको छ ।

निगमका अनुसार मंगलबार काठमाडौंबाट उडेर कतारको दोहा विमानस्थलमा अवतरण भएलगत्तै निगमको न्यारोबडी विमानको इन्जिनमा समस्या देखिएको थियो । यसैगरी, काठमाडौंबाट जापानको नारिता उडान भर्न तयार निगमको अर्को वाइडबडी विमानमा विद्युतीय समस्या उत्पन्न भएका कारण सो विमान पनि अहिलेसम्म विमानस्थलमै ग्राउन्डेड भएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले काठमाडौंबाट नारिता उड्ने तयारीमा सामान्य प्राविधिक समस्या देखिएको वाइडबडी विमान बिहीबार साँझसम्म मर्मत भइसक्ने अपेक्षा गरिएको बताइन् । उनले मंगलबारको उडानमा रोकिएका सबै यात्रुलाई बुधबार साँझ अर्को विमानबाट नारिता पठाइएको जानकारी गराइन् ।

यसैगरी, उनले कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको न्यारोबडी विमान मर्मतमा भने अझै केही दिन समय लाग्ने बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीका क्रममा अकस्मात बिग्रिएर ग्राउन्डेड भएको निगमको वाइडबडी विमानमा प्राविधिक समस्या देखिपछि सो विमानका चालकले मंगलबार १ सय ३ जना यात्रुसहितको काठमाडौं–नारिता उडान स्थगित गर्नुपरेको बताएका थिए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस