सहकारीको ब्याज बढाउन लबिङ

पत्रपत्रिकाबाट

बुधबार, ०७ पुस २०७८, ०७ : ४५
सहकारीको ब्याज बढाउन लबिङ

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएसँगै सहकारीको ब्याजदर बढाउन सञ्चालकहरुले लबिङ थालेका छन् । सहकारी विभागले तोकेको सहकारी संस्थाहरुको ऋणको अधिकतम ब्याजदरको सीमा सन्दर्भ ब्याजदर १४।७५ प्रतिशतमा रहेर संस्था सञ्चालन गर्न ग्राहो भएको भन्दै पुनरावलोकन गर्न सञ्चालकहरुले दबाब दिएका हुन् ।

“अहिले बैंकहरुले बचतमै १४-१५ प्रतिशत ब्याजदर दिन थालिसकेका छन् । अब सहकारीलाई दुर्घटनाबाट बचाउने हो भने सन्दर्भ ब्याजदरको सीमा बढाउनुपर्छ,” जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले भने । बैंकले ब्याजदर बढाएसँगै सहकारीको निक्षेप घट्दै गएको र यही क्रम केही समय रहने हो भने सदस्यहरुको बचत फिर्ता दिन नसक्ने अवस्था आउने उनले चेतावनी दिए ।

सहकारी विभागले २०७७ कात्तिक १५ गतेदेखि सहकारीले ऋण लगानी गर्दा अधिकतम १४.७५ प्रतिशत भन्दा बढी ब्याजदर लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुसँगै सहकारीमा पनि तरलता अभाव हुन थालेपछि यसको समाधानका लागि मंगलबार ललितपुरमा सहकारी अभियानका नेतृत्व र विभागका रजिष्टारको उपस्थितीमा छलफल भएको थियो ।

छलफलमा सहकारी अधिकांश सहकारीकर्मीहरुले ब्याजदरको सीमा साँघुरो भएको भन्दै यसलाई पुनरावलोन गर्न रजिष्टारलाई आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका पूर्वअध्यक्ष रामशरण घिमिरेले सन्दर्भ ब्याजदर सीमा ब्याजदरका रुपमा आएको भन्दै यो प्रावधानलाई हटाउन आग्रह गरे ।

कार्यक्रममा सहकारीकर्मीहरुको गुनासो सुनेपछि सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सन्दर्भ ब्याजदर बजारको अवस्थामा आधारमा पुनरावलोकन गर्ने बताए । कारोबार दैनिकमा खबर छ ।