कांग्रेस महाधिवेशन : महामन्त्रीद्धय गगन र विश्वप्रकाशको काँधमा कांग्रेस

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ पुस २०७८, ०७ : ३२
कांग्रेस महाधिवेशन : महामन्त्रीद्धय गगन र विश्वप्रकाशको काँधमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित बनेका छन् । नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको बहस चल्दै आएको कांग्रेसभित्र महाधिवेशनको परिणामले माथिल्लो नेतृत्व तहमा थापा र शर्मालाई पुर्याएको छ ।

२७ मंसिरमा सम्पन्न १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनबाट थापा र शर्मा निर्वाचित बनेका हुन् । दुई महामन्त्रीका लागि महाधिवेशनमा ६ जना उम्मेदवार मैदानमा थिए ।थापाले ६ उम्मेदवारमध्ये सबैभन्दा बढी ३ हजार २३ मत ल्याएर विजयी बनेका हुन् । यस्तै, शर्माले १९ सय ८४ मत ल्याउँदै महामन्त्रीमा विजयी बने ।

यसैगरी, महामन्त्रीका अन्य उम्मेदवार प्रकाशसरण महतले १५ सय ५६, प्रदीप पौडेल १३ सय ९३, डा। मीनेन्द्र रिजालले ८ सय ९ र डा। राजाराम कार्कीले १ सय ६ मत ल्याउँदै पराजित भए । कांग्रेस विधानमा दुई महामन्त्री निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । महाधिवेशनमा ४७ सय ४३ मतदाता रहेकोमा ४६ सय ७९ मत खसेको थियो ।

महामन्त्रीमा निर्वाचित बनेपछि थापाले आफू एक दिन पनि चुक्ने वा थाक्ने नगरी महाधिवेशनमा पाएको मतलाई न्याय गर्दै पार्टीका लागि काम गर्ने बताए ।‘मैले पाएको मतलाई मैले न्याय गर्नुपर्छ, एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन, म अझै इमानदारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु,’ थापाले भने ।यसैगरी, नवनिर्वाचित महामन्त्री शर्माले आफ्नो जित व्यक्तिको वा गुटको जित नभएर कांग्रेसलाई रूपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताए ।

‘यो एउटा व्यक्तिको विजय होइन, गुटको विजय पनि होइन, सिंगो नेपाली कांग्रेसलाई रूपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’ नवनिर्वाचित कांग्रेस महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग भने ।

गगन थापा
२०४६ मा कक्षा ९ मा अध्ययन गर्दै गर्दा बाल थापाको कांग्रेस सदस्यका रूपमा राजनीतिक यात्राको सुरुवात भएको थियो । त्यसैबखत उनी २०४६ सालमा भएको जनआन्दोलनमा सहभागी बने ।

त्यसपछि २०५१ म स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्त्र क्याम्पसको सदस्य, २०५३ मा सचिव र २०५५ मा उनी सभापति बने । यसैगरी, थापा २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य भए । २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ महामन्त्री बनेका थापाले तत्कालीन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ गरे ।

स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गर्दै गर्दा २०६०÷२०६१ मा राज्यविरुद्धको आरोपमा उनीमाथि राजद्रोहको मुद्दा लाग्यो । त्यसपछि उनी जेल परे । जेलमै रहँदा एम्नेस्टि इन्टरनेसनलद्वारा उनले ‘आस्थाको बन्दी’का उपमा पाए ।थापाले २०६२–६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व प्रदान गरे भने २०६४ सालको संविधानसभा निर्वाचनमा देशभरि मुख्य चुनावी प्रचारकका रूपमा अघि बढे । त्यसबखत उनी समानुपातिक उम्मेदवार बनेका थिए भने संविधान सभा सदस्यमा निर्वाचित बनेका थिए ।

२०६७ सालमा भएको १२औं महाधिवेशनबाट उनी सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बने भने २०७ मा संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडांै क्षेत्र नम्बर ४ उनी निर्वाचित भए ।२०७२ सालमा सम्पन्न १३औं महाधिवेशनमा उनी महामन्त्री पदमा पराजित भए । २०७३ सालमा नौ महिना स्वास्थ्यमन्त्री बनेका उनी पुनः २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित भए । उनले नौ महिना स्वास्थ्यमन्त्रीका रूपमा उल्लेखनीय सुधारका कामसमेत गरे । हाल उनी संघीय संसदको सदस्य छन् ।

विश्वप्रकाश शर्मा
नवनिर्वाचित कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको पारिवारिक पृष्ठभूमि कांग्रेससँगै जोडिएको छ । तर, उनका पितापुर्खा कांग्रेसको केन्द्रीय तहमा भने पुगेनन् । शर्माका बुबा पर्शुराम भण्डारी पञ्चायत कालमा भूमिगत अवस्थामा झापा जिल्ला सदस्य थिए ।

धुलाबारी माविमा कक्षा ८ मा पढ्दा उनी नेविसंघको इकाइ सभापति भए । राजनीतिमा शर्माको औपचारिक प्रवेश सोही विन्दुबाट सुरु भयो । २०४३ मा उनी मेची क्याम्पसको नेविसंघको सभापति बने भने २०४७ सालमा जिल्ला सभापति भए । यसैगरी, २०४८ मा शर्मा छोटो समयमा नै नेविसंघको केन्द्रीय सदस्यमा बन्न सफल भए । त्यसपछि उनी २०५३ मा नेविसंघको महामन्त्री हुँदै २०५७ मा नेविसंघको सभापति बन्न सफल भए । राजधानी दैनिकमा खबर छ ।