रकम भेटिन्छ, स्रोत भेटिंदैन

पत्रपत्रिकाबाट

सोमबार, २७ मंसिर २०७८, ०७ : ३८
रकम भेटिन्छ, स्रोत भेटिंदैन

काठमाडौं । गत मंसिर १९ गते दरबारमार्ग स्थित एक कपडा पसलबाट ६९ लाख ५० हजार श्रोत नखुलेको रकमसहित पसलका म्यानेजर हिरोसी खनाल प्रक्राउ गरे। महानगरीय प्रहरी वृत्त दरवार मार्गको टोलीले उनलाई प्रक्राउ गरेको हो।  यही कार्तिक २६ गते कालीमाटीबाट अमरनारायण दास १६ लाख २० हजार ९ सय रुपैयाँसहित प्रक्राउ परे।

सप्तरी मलेपुर गाउँपालिकाका २५ वर्षीय दासले उक्त रकम कसको हो रु, कहाँबाट आयो भनेर कुनै आधिकारिक स्रोत खुलाउन सकेनन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको कुनै व्यापार, विजनेश र आम्दानी पनि देखिएको छैन। महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले उनलाई नगदसहित शुक्रबार प्रक्राउ गरेको हो। अपराध महाशाखाका अनुसार थप अनुसन्धान र आवश्यक कारवाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको छ। 

गत कार्तिक ३ गते राती भक्तपुर लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित चित्रबहादुर पुन प्रक्राउ परे। बाग्लुङ गल्कोट घर भइ हाल कोटेश्वर बस्ने पुनलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र ३० लाख नगदसहित मनहरा आखा अस्पताल नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा उनको कोठामा खानतलासी गर्दा थप ५० लाख फेला परेको थियो। उनलाई आवश्यक कारवाहीको लागि सम्पति शुद्धीकरण विभागमा पठाइएको छ। 

यस्तै गत असोज १५ गते भारतबाट लुकाइ छिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाख ५० हजारसहित तीनजना प्रक्राउ परे। प्रक्राउ पर्नेमा विक्रम पटेल, मुकेश पटेल, बलिराम पटेल रहेका छन्। 

गत भदौ २८ गते जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको नगद ५ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गर्यो। भारतबाट वीरगञ्ज आउने क्रममा ४३ वर्षीय महमद आसिफ अंसारीलाई प्रहरीले पक्राउ गरेको थियो। ना।२५ प ८७६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनले हेल्मेटभित्र रकम लुकाएर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको थियो। 

साउन १८ गते पश्चिम नवलपरासीबाट भारतीय र नेपाली रुपैयाँसहित दुईजना पक्राउ परे। बर्दघाट नगरपालिकामा प्रहरीले ३२ लाख ९० हजारसहित उनीहरुलाई पक्राउ गरेको थियो। उक्त रकमको उनीहरुले स्रोत खुलाउन सकेनन्। प्रहरीले भारत मर्चवारका २७ वर्षीय समिर खान र पश्चिम नवलपरासीका ३५ वर्षीय योगेन्द्र यादवलाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले ९ लाख भारतीय रुपैयाँ र बाँकी १८ लाख ५० हजार नेपाली बरामद गरेको थियो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस