रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु : मन्त्री आले

रासस

शनिबार, १८ मंसिर २०७८, १७ : ३४
रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु : मन्त्री आले

जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।

श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरका रूपमा रहेको रामजानकी मन्दिरलाई जतिसक्दो छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आफूले भरपूर कोसिस गर्ने बताएका हुन् ।

विश्वभरका हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहे पनि त्यसले मूर्तरूप लिनसकेको छैन । मैथिल सभ्यताका अगुवाहरूले जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल गर्दै आइरहेका छन् ।

रामजानकी मन्दिरमा भगवान् श्रीरामको जन्मका अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सवलगायत विविध सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । यही मङ्सिर २२ गते विवाह पञ्चमी परेको छ । तीन वर्ष अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह पञ्चमीका दिन जानकी मन्दिरको पूजाअर्चना गरेका थिए ।

द्वापर युगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाका राजा जनककी सुपुत्री जानकीको विवाह भएको दिनलाई विवाह पञ्चमीका रूपमा धुमधामका साथ मनाइन्छ । विवाह पञ्चमीका दिन जनकपुरधाममा विशेष मेला लाग्ने गर्छ । विवाह पञ्चमीका दिन भारतबाट लाखौँ भक्तजन जनकपुरको जानकी मन्दिर दर्शनका लागि आउने गरेका छन् ।

मन्त्री आलेले हजारौँ वर्ष पुरानो मिथिला सभ्यता कला, सङ्गीत, भाषा, बेषभूषाका रूपमा निकै धनी रहेको उल्लेख गर्दै रामजानकी मन्दिरको संरक्षण र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । “रामजानकी मन्दिरको सौन्दर्यकरण, संरक्षण र विकास निर्माणमा संस्कृति मन्त्रालयको पूर्ण सहयोग रहन्छ”, उनले भने ।

सो अवसरमा मन्त्री आलेले मिथिला संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए । कार्यक्रममा समाजका पदाधिकारीले प्रदेश नं २ का पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस